
पोखरा स्पोर्टस । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा जारी राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको दोस्रो दिन लिग चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
सेमीफाइनल समिकरणमा घरेलु टोली गण्डकीले शसस्त्र प्रहरीको एपिएफ क्लब संग भेट पक्का गर्दा दोस्रो सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लब र कोशी प्रदेश आमने सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत तेस्रो स्थान र उपाधि भिडन्त समेत भोली (मंगलबार) हुने संघका कोषाध्यक्ष कृष्णसिंह बस्नेत (शान्त)ले जानकारी दिए ।
सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे ।
समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् ।
समूह ‘बि’ तर्फ आर्मीले लुम्बीनिलाई ३७–२१ ले हराउँदै कुल ६ अंकका साथ शिर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीका सुरेश महतोले सर्वाधिक ९ गोल गरे ।
सो समूहबाट एपिएफ उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । एपिएफले आइतबार लुम्बिीन प्रदेशलाई हराएको थियो । एपिएफको ३ अंक रहँदा लुम्बनी अंकविहिन हुँदै बाहिरियो ।
समूह ‘ए’ तर्फकै अर्को खेलमा कर्णालीले सुदुरपश्चिमलाई ३७–२७ गोलले हरायो । कर्णालीको जितमा महेश थापाले ११ गोल गरे । समूह ‘ए’ बाट गण्डकी शीर्षस्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा गण्डकीले कोशीलाई ३७–२५ ले हराएपनि कोशीले सेमीफाइनलमा स्थान बनाएको छ । तीन खेल खेलेको गण्डकी विजेता बन्दै कुल ९ अंक रह्यो । सोही समुहबाट कोशी र कर्णालीको समान चार÷चार अंक रहेपनि गोलअन्तरको आधारमा कोशी अन्तिम चारमा प्रवेश गरेको हो । कोशीले कर्णाली भन्दा ३ गोल कम खाएको थियो ।
प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्यले जानकारी दिइन् ।
