
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत सुरू भएको ‘स्पोर्टस फर फ्यूचर कार्यक्रम’ (एसएफएफ) अन्तर्गत पोखरामा छनौट प्रक्रिया सम्पन्न भएको छ ।
नेपाली खेलकुदमा दुरगामी लक्ष्यका साथ सुरू गरिएको उक्त कार्यक्रमअन्तर्गत पोखरामा सम्पन्न दुई दिने छनौटमा २ सय भन्दा बढिले सहभागिता जनाएको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिनाले जनाएका छन् । ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्दै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न ‘स्पोर्टस फर फ्यूचर कार्यक्रम’ सुरू भएको हो ।

पहिलो चरण अन्तर्गत हरेक प्रदेशबाट १०–१० जना एन्थ्रोपोमेट्रिक टेस्टका आधारमा छनौट गर्ने तय भए अनुसार पोखरामा छनौट कार्यक्रम सकिएको र म्याग्दीको बेनीमा यसै प्रकारको कार्यक्रम तय भएको निर्देशक तिमिल्सिनाले जानकारी दिए । म्याग्दीमा बुधबार र बिहिबार हुने छनौटमा जिल्ला खेलकुद विकास समिति म्याग्दी र बेनी नगरपालिका समेतको सहकार्य रहने उनले जनाए ।
पोखरामा गरिएको छनौट प्रक्रियामा गण्डकी विश्वविद्यालयले समेत सहकार्य गरेको थियो । विश्वविद्यालयका स्पोर्टस म्यानेजमेन्टका प्राध्यापकहरू आशिष आचार्य, सुरेश थापा र सोनाम लामाले समेत सहयोग गरेका थिए । त्यसै गरी सानका उपनिर्देशक राजेन्द्ररत्न तुलाधार समेत छनौट प्रक्रियामा रहेका थिए ।
आठ बर्षे योजना अनुसार स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रम अन्तर्गत ओलम्पिक सम्मको सहभागितालाई लक्ष्य राखी शारिरीक बनौट र क्षमताको परिक्षण मार्फत खेलाडी छनौट गरिएको छ । कार्यक्रम अन्तर्गतगण्डकी प्रदेशमा कास्की र म्याग्दी गरी १० जना छनौट गरिने छ ।
राखेपले छनोट भएका बालबालिकालाई आवास, अध्ययन, दैनिक खेलकुद तालिम, पोषण र स्वास्थ्य सेवा, खेल मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहायता र चोटपटक रोकथाम रणनीति सम्बन्धी सेवा उपलब्ध गराउने छ ।
छनौट कार्य पौष मसान्त सम्म सम्पन्न हुने निर्देशक तिमिल्सिनाले जनाएका छन् । नेपाली खेलकुदमा राखेपले सुरूवात गरेको यो अभियान निकै उत्कृष्ट रहे पनि दिगोपनको विषयमा अझै प्रष्टता भने छैन ।
