
पोखरा स्पोर्टस । अल्पाइन स्पोर्टस फेडेरेशन गण्डकी प्रदेशको अध्यक्षमा सर्मिला गुरूङ सर्वसम्मत निर्वाचित भएकी छन् । फेडेरेशनको बुधबार सम्पन्न प्रथम अधिवेशनले उनीसहित सम्पूर्ण कार्यसमिति आगामी ४ वर्षका लागि सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष गुरूङ मुस्ताङ घरपझोङ गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत हुन् ।
यसै गरी फेडेरेशनको उपाध्यक्ष मोहनीलाल खनाल, सचिवमा कुल प्रसाद अधिकारी, कोषाध्यक्षमा किरन गुरूङ निर्वाचित भए । कार्यसमिति सदस्यमा शिव कुमारी त्रिपाठी, उत्तम कुमार तामाङ, दिनेश गुरूङ र राजु परियार निर्वाचित भए ।

यस अघि सो साधारण सभा तथा अधिवेशनको एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रमुख डिल्लिराज भट्टले उद्घाटन गर्दै गण्डकी प्रदेश सहासिक खेलकुदको गन्तव्य रहेको जनाए । पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरु भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढावा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरुमा लगानी बढाउन आवश्यक रहेकोमा उनले जोड दिए ।
कार्यक्रममा अल्पाइन स्पोर्टस फेडेरेसन नेपालका केन्द्रिय अध्यक्ष गोविन्द भट्टराइले गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तब्य बनाउन कुनै ठूलो धनराशी खर्चीनु नपरे पनि यहाँको पर्यटन क्षेत्रले त्यसको पहिचान गर्न नसक्दा त्यसबाट प्राप्त हुने महत्वपूर्ण स्रोत गुमाउन पुगेको बताए । ‘पर्वतिय खेलकुद र पर्यटन बीच अन्तरसम्वन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उनले साहसिक खेलकुदबाट नै दिगो पर्यटनको कल्पना गर्न सकिने जनाउँदै अध्यक्ष भट्टराईले अवको दिगो पर्यटन नेपाली महिलाहरुको सशक्तिकरणका लागि समेत उत्तिकै महत्वपूर्ण हुने जनाए ।
सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए भने माछापुच्छ्रे गाउँपािलकाका पूर्व अध्यक्ष कर्ण बहादुर गुरूङले निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका थिए ।
