
पोखरा स्पोर्टस । पोखरामा हरेक वर्ष आयोजना हुँदै आएको विश्वकै कठिन मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनमा १९ देशका ४० जनाको सहभागिता हुने पक्का भएको छ ।
चौथो संस्करणको तयारी सुरू गरेको हिमालयन एक्सट्राइले प्रातियोगितामा १९ देशका ३३ पुरूष र ७ महिला गरी ४० जनाको सहभागिता हुने जनाएको हो । ‘हिमालयन एक्सट्रिम ट्रायथलन’का रेस डाइरेक्टर रिकेश योञ्जनका अनुसार उक्त प्रतियोगिता आगामी बैशाख २७ गते आयोजना हुनेछ ।
कहाँ र कसरी हुन्छ रेस
विश्वकै कठिन प्रतियोगिताको मध्येको एक उक्त प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किमि पौडी, १ सय ७५ किमि साइक्लिङ र ४३ किमि दौड समावेश रहेको छ । फेवातालमा पौडी बाट सुरु भए लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–गलुङकालिका हुँदै पुनः फर्किएर कास्कीको लुम्ले काँडेमा पुगेर सम्पन्न हुनेछ । सो लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।
सन २०२७ मा नेपालमा नै वर्ल्ड एक्सट्रिम ट्रायथलनको आयोजनाको तयारी समेत सुरू गरेको हिमालयन एक्सट्रीले चौथो सस्करणमा नेपाल आउने खेलाडीहरुले निकै चासो देखाएको बताएका छन् । उनले भने–“यो वर्ष पोखरा पयर्टन भ्रमण वर्ष समेत रहेकोले हामी विश्वका सबै खेलाडीहरुलाई यहाँ आउन विभिन्न माध्यमबाट निम्तो समेत दिएका छौं । हामी खेलकुदको माध्यमबाट विश्वमा पोखरालाई अझै प्रवर्द्धन गर्ने यो अवसरलाई समेत जुराएका छौं ।” उनका अनुसार उनीहरूआफूलाई यहाँको वातावरणमा तयार गर्न प्रतियोगिता सुरू हुनु भन्दा १० दिन अघि नै पोखरा आउनेछन् । उनीहरुको नेपाल बसाई दुई साता भन्दा लामो हुने उनले बताए ।
यो वर्ष खेलाडीहरुको संख्या ४० जना रहे पनि उनीहरु संग आउने प्रशिक्षक, पत्रकार, फोटोग्राफर गरी १०० भन्दा बढि विदेशी पोखरा आउने रेश डाइरेक्टर योञ्जनले पोखरा स्पोर्टसलाई बताए । विश्वमा हुने कठिनतम रेस हरू मध्ये पोखरामा हुने यो रेस विश्वकै कठिन रेसका रूपमा पहिचान रहेको बताउँदै उनले भने–“यो महत्वपूर्ण अवसर हो । एक जना खेलाडी संग कम्तिमा २ देखि ४ जना समावेश हुनेछन् । उनीहरू खेलाडीको सहयोगीको भूमिका निर्वाह गर्नेछन्”, उनले थपे–“यो वर्ष ५ जना विदेशी महिला खेलाडीहरू ट्रायथलन इतिहासमानै पहिलो पटक ४ हजार मिटर उचाई छुने गरी तयारी गरिरहेका छन् । यदि उनीहरुले त्यो पुरा गरे भने नेपालबाट नयाँ कृतिमान स्थापित हुनेछ भने विश्वका सञ्चार माध्यमले मुख्य स्थान समेत पाउनेछ ।”
प्रतियोगितामा गत वर्ष तेस्रो संस्करणका उपविजेता काजाकास्तानका रुस्लान एर्जानोभले सहमेत सहभागिता जनाउने छन् । उनले सो प्रतियोगिता पुरा गर्न १६ घन्टा ४७ मिनेट ४४ सेकेण्डको समय लिएका थिए । यस पटक उनी बिजेता बन्ने लक्ष्यका साथ पोखरा आउन लागेको रेस डाइरेक्टर योञ्जनले बताए । गत वर्ष नर्वेका एन्डर्स लङसेटले बिजेता बनेका थिए । उनले १६ घन्टा २३ मिनेट २६ सेकेण्डको समयमा दौड पुरा गरेका थिए ।
प्रतियोगितामा भारतसहित चेक रिपब्लिक, काजाकास्तान, जर्मनी, फ्रान्स, अमेरिका, रसिया, इन्डोनेशिया, यूक्रेन, ताइवान, नर्वेलगायत मुलुकका खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको बताए ।
फायल तस्बिर
