
पोखरा स्पोर्टस । माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिका बागलुङले हात पारेको छ । अघिल्लो वर्ष उपविजेता बनेको गलकोटले शुक्ला गण्डकी नगरपालिका तनहुँलाई ३–१ को सेटले पराजित गरी उपाधि जितेको हो ।
बिजेता बने संगै गलकोटले नगद २ लाख ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता बनेको शुक्ला गण्डकी नगरपालिका तनहुँले नगद १ लाख ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
फाइनलमा गलकोटले शुक्ला गण्डकीलाई २५–२०, २५–१२, १६–२५ र २५–२० ले पराजित गरेको थियो ।
सेमिफाइनलिष्ट निसिखोला र बौदीकालीले समान नगद रु ५०/५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी, शुक्ला गण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मिन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो ।
त्यसैगरी महिला तर्फको उपाधी शान्ता भलिवल ट्रेनिङ सेन्टर पोखराले जितेको छ । बिजेता शान्ता भलिवल ट्रेनिङ सेन्टरले नगद १ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी बाग्लुङ नगरपालिका बाग्लुङ दोस्रो हुँदै नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त वुझायो ।
सेमीफाइनलनमा उपविजेता वनेका माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘वि’ नगद २५/२५ हजार प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिताको महिला तर्फ शान्ता भलिवल ट्रेनिङ सेन्टरकी निरुता शाहि उत्कृष्ट खेलाडी, बाग्लुङ नगरपालिकाकी सोइङ थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिवल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनीशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी प्रमुख प्रशाशकिय अधिकृत गोपिकृष्ण अर्याललगायतले पुरस्कार वितरण गरेका थिए ।
