
पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालले एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको समिक्षा बैठक शनिबार सम्पन्न गर्दै बैशाख १ गते नयाँ वर्षको दिन छैटौ सस्करणको मिति घोषणा गर्ने जनाएको छ ।

एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता गत माघ १२ देखि २० गते सम्म आयोजना भएको थियो । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ स्थित एकान्तकुना रिसोर्टमा सम्पन्न भएको समिक्षा बैठकमा प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने मुख्य प्रयोजक, सहयोगी संस्था, स्वदेश तथा विदेशबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने महानुभावहरूलाई आभार व्यक्त गरेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले पोखरा स्पोर्टसलाई बताएका छन् ।
“एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गर्न धेरैको सहयोग, समय र योगदान रहेको छ”, अध्यक्ष शर्माले समिक्षा बैठक भए लगतै भने–“हामी उहाँहरुले पुर्याउनु भएको सहयोग र योगदानलाई सम्मान गर्दै आभार व्यक्त गरेका छौं ।” बैठकले पाँचौ एनसेल टाइगर कप भलिबल प्रतियोगिताको आय ब्यय यहि चैत्र १५ गते सार्वजनिक गर्ने गरी तयारी समेत गरेको उनले जानकारी दिए ।
यसै गरी संस्थाले छैटौं सस्करणको प्रतियोगिताको मिति नयाँ वर्षका दिन बैशाख १ गते घोषणा समेत गर्ने अध्यक्ष शर्माले बताउँदै पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदै आयोजक महिला टिमले उपाधि जितेकोमा टोलीका सम्पूर्ण खेलाडीहरु, टिमका प्रशिक्षक अर्जुन घिमिरे, सहायक प्रशिक्षक जिवन भण्डारी, र टिम म्यानेजर शंकर शंकर गुरूङलाई बधाई संगै आभार व्यक्त गरेको छ ।
गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङ, प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीसहितको उपस्थितीमा सम्पन्न समिक्षा बैठकस्थल अन्नपूर्णमा स्थानिय दुई विद्यालय र एक क्लबलाई खेलकुद सामाग्री संगै शैक्षिक सामाग्री प्रदान गरेको संस्थाका सचिब डिबी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए । संस्थाले विरेठाँटी मावि र मोदी आधारभूत विद्यालय तथा लामखेत चिर्मुङ यूवा परिवारलाई ति सामाग्री प्रदान गरेको थियो ।
कार्यक्रममा स्थानिय विहानी आमा समुहले टाइगर ग्रुपको टोलीलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ८ का अध्यक्ष विजय गुरूङ, एकान्तकुना रिसोर्टका सञ्चालक मुक्ती गुरूङसहित सो कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गर्ने खगेन्द्र गौचन, नारायण बहादुर भण्डारी, रविन्द्र शेरचनलाई समेत संस्थाले आभार व्यक्त गरेको छ । यस्तै हालै टाइगर ग्रुपका सदस्य विराट केसी (राजु)को आमाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेको छ ।
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ शसस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।
