राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा आर्मी र गण्डकीको दबदवा

पोखरा स्पोर्टस । पोखरामा सुरू भएको राष्ट्रिय फेन्सिङ च्याम्पियनसिपमा विभागिय टोली नेपाल आर्मी क्लब र आयोजक गण्डकी प्रदेशले आफ्नो दबदबा कायम गरेका छन् ।

गण्डकी प्रदेश फेन्सिङ संघको आयोजनामा सुरू भएको प्रतियोगितामा सिनियरतर्फ आर्मी र जुनियरतर्फ गण्डकीले सर्वाधिक पदक जितेका हुन् । जारी प्रतियोगितामा आर्मीले ३ स्वर्ण, २ रजत र २ काश्य पदक हात पारेको छ भने गण्डकीले २ स्वर्ण, २ रजत र ४ काश्य पदकका साथ शिर्ष स्थानमा रहेका छन् । 

प्रतियोगिताको दोस्रो दिन सिनियर उमेन्स इपी इन्डिभिजुअलमा पुजन कुमारी कुमालले स्वर्ण पदक हात पार्दा आर्मीकै सिता पाठकले रजत तथा एपिएफ क्लबका खेलाडी द्वय अनिता कार्की र माया चौधरीले काश्य पदक जितेका छन् ।

यस्तै सिनियर मेन्स इपी इन्डिभिजुअलमा आर्मीका खेलाडी मिन कार्की र सुरज सिंहले क्रमश स्वर्ण र रजत पदक जित्दा आर्मीकै पुर्णराज गिरी र एपिएफका जंग गिरीले काश्य पदक जितेका छन् ।

यता सिनियर उमेन्स इपी टिम इभेन्टमा आर्मीले स्वर्ण, बागमतीले रजत, गण्डकी र एपिएफ क्लबले काश्य पदक जिते भने मेन्स टिम इभेन्टमा आर्मीले स्वर्ण, गण्डकीले रजत तथा सुदुर र एपिएफ क्लबले काश्य पदक जितेको नेपाल फेन्सिङ संघका महासचिब सुजनलाल श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

यस्तै जुनियर फोयल मेन्स इन्डिभिजुअलमा गण्डकी प्रदेशका पूर्ण बहादुर नेपालीले स्वर्ण पदक हात पारेका छन् । उनले फाइनलमा गण्डकीकै समिर सुनारलाई पराजित गरे । सोही इभेन्टमा गण्डकीका युवराज मल्ल र सुदुर पश्चिमका अंशु चौधरीले काश्य पदक जिते ।

त्यस्तै जुनियर फोयल उमेन्स इन्डिभिजुअलमा बागमतीकी अश्मिता घिसिङले स्वर्ण पदक जितेकी छन् भने सुदुर पश्चिमकी इशरा थापाले रजत, गण्डकीका खेलाडी द्वय रिसिका कंडेल र सुविना मगरले काश्य पदक हात पारे ।

प्रतियोगिता अन्तर्गत नै सम्पन्न जुनियर उमेन्स टिम फोयलतर्फ गण्डकीले स्वर्ण पदक जितेको छ भने बागमतीले रजत र सुदुर पश्चिमले काश्य पदक हात पारेको छ ।

प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित दुई विभागिय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब, बाग्मती प्रदेश, कोशी प्रदेश र सुदुर पश्चिम प्रदेशको सहभागिता हुने छ । कुल १ सय ७० जना खेलाडी र अफिसियलहरुको सहभागिता रहेको गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको दुई वर्ष पछि पोखरामा फेन्सिङ खेलको वृहद प्रतियोगिता आयोजना भएको हो । ओलम्पिकमा समावेश फेन्सिङ खेल, मार्शल आर्ट खेलहरुको समिश्रण रहेकोले पनि निकै आकर्षक र उत्कृष्ट खेलको रुपमा लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close