
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १४ औं दक्षिण एसियाली खेलकुद (साग)को मिति तय भएकोमा स्वागत गरेको छ भने नेपाल ओलम्पिक कमिटि बैठकमा सहभागिता हुनु अवैधानिक भन्दै विरोध जनाएको छ ।
सागको तयारीका लागि ओलम्पिक काउन्सिलको बैठक गत फ्रेबुअरी २५ मा पाकिस्तानको लाहोरमा सम्पन्न भएको थियो । सो बैठकमा एनओसीका तर्फबाट अध्यक्ष जिवनराम श्रेष्ठले सहभागिता जनाएका थिए । राखेपले एक विज्ञप्तीमार्फत उनको उपस्थितीलाई लिएर विरोध जनाएको हो ।
राखेपले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै भनेको छ–“१४औं दक्षिण एशियाली खेलकुद सन् २०२६ जनवरी २३ देखि ३१ तारिख सम्म मित्रराष्ट्र पाकिस्तानको लाहोर सहरमा आयोजना हुने भनि विभिन्न सञ्चार माध्यमबाट थाहा हुन आएकोमा हामी स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषद् मित्रराष्ट्र पाकिस्तानलाई प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दछ ।”
राखेपले भनेको छ–“ नेपाल ओलम्पिक कमिटिको नाममा, विधान संशोधन र निर्वाचनका सम्वन्धमा सम्मानीत सर्वोच्च अदालत र पाटन उच्च अदालतले अन्तरीम आदेश जारी गरेकोले नेपालको ओलम्पिक कमिटीको हैशियतले भाग लिने कुरा सम्मानित अदालतको आदेश विपरित रहेको छ । नेपाल ओलम्पिक कमिटीको नामबाट देशको सहभागिता हुने बिषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक हो ।”
सो बारे युवा तथा खेलकुद मन्त्रालय मार्फत आईओसी संग समन्वय गरी सबै बिषयको जानकारी सहित ठोस समाधानका लागि पहल भईरहेको व्यहोरा राखेपको विज्ञप्तीमा जनाइएको छ ।
दक्षिण एशियाली क्षेत्रका लागि एक महत्वपूर्ण र प्रतिष्ठित वृहत खेलकुद प्रतियोगिता कारणबस तोकिएको समयमा हुन नसकेको अवस्थामा आयोजक समिति र पाकिस्तान ओलम्पिक कमिटिको प्रयासबाट प्रतियोगिताको मिति निधो गरी दक्षिण एशियाली क्षेत्रका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गरी अघि बढन र आफ्नो खेल जीवनलाई सुनिश्चित गर्ने सुनौलो अवसर प्राप्त हुनेमा राखेप विश्वस्त रहेको विज्ञप्तप्मा जनाइएको छ ।

