
पोखरा स्पोर्टस । पोखरामा सुरू भएको पिएमकप पुरुष गण्डकी प्रदेशस्तरीय एक दिवशिय क्रिकेटमा तनहुँले शानदार सुरूवात गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन म्याचमा तनहुँ बागलुङ विरुद्ध ११४ रनले जित दर्ता गरेको हो । बागलुङले टस आफ्नो पक्षमा राख्दै तनहुँलाई इनिङको सुरूवात गर्न बोलाए पछि ४२ ओभरमा पुरै विकेट गुमाउँदै २१० रन बनाउन सफल रह्यो ।
तनहुँको पारीमा खेलको म्यान अफ दि म्याच समेत रहेका विशाल बुढा मगरले ६८ बलमा १० चौकाका साथ ६० रन बनाए भने सुप्रिम सुनारले ५० रन जोडे । त्यस्तै दिपेश अधिकारीले व्यक्तिगत ३७ रनको योगदान दिए । बागलुङका बलर सञ्चार निउरेले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा २६ रन दिएर ४ विकेट हात पारे भने मुकेश ओझाले २ विकेट आफ्नो नाममा लेखाए ।
यता २११ रनको लक्ष्य पछ्याएको बाग्लुङ २९.४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो । बाग्लुङका व्याटर नट आउट रहँदै अश्विन थापाले २० रन जोडदा दिपेश कुंवरले १५ र चन्द्रदिप यादवले ११ रन बाहेक अन्यले दोहोरो रन जोडन सकेनन् । तनहुँका बलर चन्द्रकान्त पौडेलले ३, सन्दिप पराजुली, रमेश शाह र एलिक श्रेष्ठले समान २–२ विकेट लिए ।
भोलीको खेल स्याङजा र बागलुङका बीच हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
