
पोखरा स्पोर्टस । पोखरा महानगरस्तरिय स्क्वास प्रतियोगितामा सन्तोष घिमिरे च्याम्पियन भएका छन् ।
पोखरा महानगर खेलकुद विकास समितिको सहकार्य तथा स्क्वास र्याकेट संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा सम्पन्न फाइनलमा सन्तोषले रविन्द्र बाटाजुलाई पराजित गर्दै च्याम्पियन भएका हुन् । सन्तोषले रविन्द्रलाई ३–० को सोझो सेटमा पराजित गरेको संघका सचिव प्रविन पालिखेले जानकारी दिए ।

यस अघि सम्पन्न सेमीफाइनलमा सन्तोषले आभान श्रेष्ठलाई ३–२ ले र रविन्द्रले अशोक रन्जितलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । सेमीफाइनलमा पराजित आभान र अशोकले तेश्रो स्थान प्राप्त गरे ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री तथा सांसद किरण गुरुङले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ३० जना पुरुष खेलाडीहरुको सहभागिता रहेको संघका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए ।
