पोखरेली ग्रासरुट टेनिस खेलाडीहरूलाई ७५ हजार बराबरको जुत्ता प्रदान

पोखरा स्पोर्टस । पोखरा रंगशालामा प्रशिक्षणरत जुनियर ग्रासरुट टेनिस खेलाडीहरूलाई जुत्ता प्रदान गरिएको छ । गत पुष १६ गते सम्पन्न २१ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसअन्तर्गत प्रतियोगितामा बिजेता भेट्रान्स बिजेताहरूले प्रदान गरेको रकम र कास्की/गण्डकी टेनिस संघको सहयोगमा उनीहरुलाई  जुत्ता प्रदान गरिएको हो ।

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थका अनुसार २५ जना जुनियर खेलाडीहरूलाई नगद रु ७५ हजार बराबरको जुत्ता प्रदान गरिएको बताए । एक वर्ष अघि देखि खेल्छ गण्डकी कार्यक्रममार्फत पोखरा रंगशाला टेनिस परिशरमा प्रशिक्षण उनीहरुलाई भेट्रान्स टेनिस मनोज राणा, उत्तम लामा, जित प्रधान र हेमराज ढकालले आफूले जितेको करिव ३७ हजार ५ सय प्रदान गरेका थिए । उनीहरुले दिएको रकममा थप रकम संकलन गरी उनीहरुलाई जुत्ता प्रदान गरिएको अध्यक्ष कायस्थले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

निरन्तर प्रशिक्षणमा रहेका जुनियर टेनिस खेलाडीहरूको खेल क्षमता समेत बढ्दै गएको बताउँदै उनीहरुको ‘फुटवर्क’ र ‘मुभमेन्ट’लाई अझै उत्कृष्ट बनाउन एकै प्रकारका जुत्ता प्रदान गरिएको अध्यक्ष कायस्थले जनाए । खेलाडीहरुको क्षमता बढाउन र टेनिसमा फुटवर्कको समेत उत्तिकै महत्वपूर्ण हुने बताउँदै गण्डकी प्रदेशले अब छिट्टै नै राष्ट्रियस्तरमा थप जुनियर खेलाडी उत्पादनमा उनीहरुले आफ्नो नाम लेखाउन सफल हुने बताए ।

‘हामीले आवश्यक्ता अनुसार खेल सामाग्रीहरुलगायत उनीहरुलाई दिंदै आएका छौं । उनीहरु पनि उत्साहित हुँदै टेनिसमा प्रशिक्षणरत छन् । यसले नेपाली टेनिसको जग बलियो बनाउन र खेलाडी उत्पादनको यात्रालाई सहज बनाउन भूमिको खेल्नेछ’, अध्यक्ष कायस्थले भने ।

गण्डकी प्रदेश टेनिस संघले सुरूवात गरेको ग्रासरुट टेनिसमा विपन्न वर्गका बालबालिकाहरु प्रशिक्षणरत छन् । नेपाली टेनिसको इतिहासमा नै यस्तो प्रशिक्षण पहिलो समेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close