टेबल टेनिस खेलाडी ‘स्यान्टु’ ओलम्पिकमा

पोखरा स्पोर्टस । नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएका छन् । काठमाण्डौमा बुधबार सम्पन्न छनौट खेलमा जित हासिल गर्दै ओलम्पिकमा छनौट खेल पार गरी ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बन्न सफल भएका हुन् ।

छनौट चरण पार गर्न उनले फाइनलमा नेपाली प्रतिस्पर्धी संयोग कपालीलाई ४–३ ले स्तब्ध पारे । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको वेष्ट अफ सेभेन्समा खेलमा पहिलो, तेस्रो र चौथो र छैटौं सेट आफ्नो पक्षमा पारे । संयोगलाई ११–७, ११–६, ११–७ र ११– ९ ले पराजित गरे ।

पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फ स्यान्टु र संयोग दुवै फाइनल पुगेका थिए ।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलिले श्रीलंकाकी विमान्दी बन्दरालाई हराउँदै पेरिस ओलम्पिक छनोट भएकी छन् । उनी पनि माल्दिभ्सबाट टेबल टेनिस खेलमा ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् ।

नेपाली खेलाडी स्यान्टु र संयोगले सेमिफाइनलमा श्रीलंकाका खेलाडीहरुलाई पराजित गरेका थिए । स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई पराजित गरे ।

ओलम्पिक खेलको इतिहासमा नेपाली तेक्वान्दो खेलाडी संगीना वैध र दीपक विष्ट छनोट चरण पार गरी ओलम्पिकमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close