
पोखरा स्पोर्टस । राष्ट्रिय अल्ट्रा र्याफटिङमा बागमती प्रदेश च्याम्पियन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बिहिबार सम्पन्न उक्त स्पर्धामा ६ टिमलाई उछिन्दै बागमती च्याम्पियन बनेको हो । गण्डकी प्रदेशका दुई जिल्लाका दुई धार्मिक नदीका दुई घाटस्थलहरुलाई जोड्दै सम्पन्न भएको प्रतिस्पर्धामा बागमती च्याम्पियन बने संगै ट्रफी, मेडल तथा प्रमाणपत्रका साथ नगद रु ६० हजार हात पारेको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।

यसै गरी प्रतियोगितामा आयोजक टिम गण्डकी प्रदेशले उपविजेता बनेको छ । गण्डकीले नगद रु ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा कोशी प्रदेश तेस्रो भएको छ । कोशीले नगद २० हजार हात पार्दा, त्रिभुवन आर्मी क्लबको बी टिम चौथो हुँदै नगद रु १० हजार र आर्मीकै ए टिम पाँचौ स्थान हुँदै नगद रु ७ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका बिजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरूङ, प्रतियोगिताका संयोजक बसन्तराज दवाडी, परिषदका सदस्य गिरमान गुरूङ, जिल्ला खेलकुद गोर्खाका अध्यक्ष शान्ता सिंह बस्नेतलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
पहिलो पटक गोर्खास्थित गण्डकी गाउँपालिका वडा नं ६ तल्लो भुमिचोक टार (फिसलिङ)बाट सो प्रतियोगिता सुरू भएको पहिलो दिनको स्पर्धा तनहुँ जिल्ला आँवुखैरेनी वडा नं ५ छिम्केश्वरीमा पुगेर सम्पन्न भएको थियो । दोस्रो दिन छिम्केश्वरीबाट सुरू भएको तनहुँको देवघाटमा पुगेर सम्पन्न भएको थियो । पहिलो दिन २३ र दोस्रो दिन २७ किमि गरी कुल ५० किलोमिटर क्षेत्रमा प्रतिस्पर्धा आयोजना गरिएको टेक्निकल टिमका सदस्य निम बहादुर मगरले बताए ।
प्रतियोगितामा नेपाली विभागिय टोली नेपाल आर्मी क्लब र आयोजक गण्डकी प्रदेशको २–२ तथा कोशी प्रदेश, बागमती प्रदेश १–१ गरी कुल ६ टिमका ४२ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
