टाइगर कप भलिबल : हेल्प नेपाललाई हराउँदै गण्डकी प्रदेश एलिमिनेटरमा

पोखरा स्पोर्टस । टिपटप हेल्प नेपाल स्पोर्टस क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो ।

पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्‍यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितसँगै गण्डकी ‘हार्ने समूह’बाट ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल २ र एपिएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ ।

यसअघि भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।

यस्तै आज बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।

न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close