
केशब पाठक,
पोखरा, २२ साउन । कास्की जिल्ला खेलकुदमा निवर्तमान अध्यक्ष याम बहादुर गुरुङको चार वर्षिय कार्यकाल यहि साउन १२ गते सकिए पछि यति बेला कास्की जिल्ला खेलकुद अभिभावक विहिन हुन पुगेको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा सदरमुकामको जिल्ला कास्की पर्यटकिय दृष्टिकोणले मात्रै नभई खेलकुदको राजधानीका रुपमा समेत उत्तिकै परिचित छ । पोखरा रंगशाला देखि यहाँका विभिन्न जल, थल र आकास, तिनै ठाउँमा खेलकुद हुने जिल्ला मध्ये नेपालको कास्की हो भन्नुमा कुनै दुई मत छैन ।

खेलकुदका लागि यस्तो महत्वपूर्ण जिल्ला कास्कीमा खेलकुदको नेतृत्व गर्न पाउनु आफैमा गर्व लाग्ने विषय समेत हो । जिल्ला खेलकुदको नेतृत्वमा आउन हान थाप मात्रै नभई भनसुन र नेतृत्वको लविङ पनि उत्तिकै हुन्छ । यति बेला नेकपाको नेतृत्वको पूर्ण बहुमतको सरकार पनि रहेको बेला पार्टी कार्यकर्ता विच आ–आफ्नो लविङ पनि उत्तिकै तिव्र बनेको छ ।
पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि यति बेला पोखरा रंगशाला लगाएत अन्य स्थानमा करौडौको बजेटको काम धमाधम भइरहेको छ । कास्की जिल्ला खेलकुद खेलकुद गतिविधी मात्रै नभई खेलकुद बजेट र खेलकुद पूर्वाधार बिकासका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यि सबै पूर्वाधारहरुको निर्माण गतिविधी समेत जिल्ला खेलकुदको प्रत्यक्ष निगरानीमा हुने गर्दछन । त्यही कारणले पनि कास्कीको खेलकुद नेतृत्व पाउनु गौरवको विषय बन्ने गरेको छ ।
अहिले कास्की जिल्ला खेलकुदको नेतृत्वमा आउन आधा दर्जन भन्दा वढीले इच्छा जाहेर गरेका छन । इच्छा जाहेर गर्ने मध्येमा निवर्तमान अध्यक्ष याम बहादुर गुरुङ, निवर्तमान कोषाध्यक्ष दिपक बहादुर गोदार, पूर्व विद्यार्थी नेता ईमानराज पौडेल, वडा नं १५ का सदस्य तोरण बहादुर वानिया, शिब अधिकारी र कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली लगाएत रहेका छन ।
आफ्नो इच्छा जाहेर गर्ने मध्ये याम गुरुङ नेपाल भलिबल संघका उपाध्यक्ष हुन । भलिबलका पूर्व राष्ट्रिय खेलाडी समेत रहि सकेका उनी अध्यक्ष पद पुनः प्राप्त गर्न कास्की जिल्ला पार्टी नेता देखि केन्द्र सम्म लविङ गरिरहेका छन । उनले केही दिन अघि गरेको आफ्नो कार्यकाल समापनका अबसरमा गरेको पत्रकार सम्मेलनमा समेत पुनः नेतृत्वमा आउने इच्छा जाहेर गरेका थिए । तत्कालिन नेकपा एमाले कास्कीको पार्टीको सिफारिसमा कास्की जिल्ला खेलकुदको नेतृत्वमा पुगेका गुरुङ पुनः अध्यक्ष पद पाउनेमा ढुक्क समेत छन ।
यस्तै गरि अर्का आकाक्षीं मध्येका एक हुन कास्की जिल्ला खेलकुदका निवर्तमान कोषाध्यक्ष दिपक बहादुर गोदार हुन । उनी चार वर्ष अघि पनि अध्यक्ष पद पाउनेमा ढुक्क थिए तर उनलाई अन्तत कोषाध्यष पद थमाइयो । तर उनी यसमा कत्ति पनि खुसी थिएनन । आफू लामो समय देखि भोलि स्वय सेबक रहि खेलकुदको सेवा गरेकोले पनि आफूलाई अध्यक्ष पदनै रोजेको बताउछन । गोदार क्यूकिशन करातेको प्रशिक्षक र मुआथाईको मुख्य प्रशिक्षक समेत हुन ।
यसै गरि कास्की जिल्ला खेलकुदका दावेदार मध्येका ईमानराज पौडेल नेकपा कास्कीका जिल्ला कमिटी सदस्य हुन । स्थानिय निकायको निर्वाचनमा समेत उम्मेदवार हुन इच्छुक रहेका उनले अन्तिम समयमा टिकट पाएनन । स्ववियू पृथ्वीनारायण क्याम्पसमा दुई पटक सहसचिव र सदस्य भएर नेतृत्व सम्हालेका पौडेल, अनेरास्ववियू कास्कीको अध्यक्ष, अनेरास्ववियू गण्डकीको अध्यक्ष तथा अनेरास्ववियू केन्द्रिय सचिबालयको पद कुशलता पूर्वक सम्हालिसकेका छन ।
अध्ययनसिल, लगनशिल र इमान्दार पार्टी नेताको रुपमा पौडेलले कास्की जिल्ला खेलकुदको अध्यक्षको पदमा आफू पनि आकाक्षीं रहेको तर्क पेश गर्दै आवश्यक्ता अनुसार पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्ने बताउँछन ।
यस्तै अर्का आकाक्षीं मध्येका कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुली समेत हुन । बैदाम सामुदायिक सेवा केन्द्र लगाएत अन्य सामाजिक संघ संस्थामा क्रियाशिल पराजुली खुलेर बोल्न नचाहे पनि आफ्नो तर्फ बाट अध्यक्ष पदका लागि लविङलाई तिव्र पारेका छन । त्यस्तै अर्का आकाक्षीं मध्येका शिव अधिकारी ढिकुरपोखरी निवासी हुन । यूवा संघ क्षेत्र नं ३ का पूर्व सदस्य समेत रहेका अधिकारी आफू अध्यक्ष पद पाउनेमा ढुक्क छन । आफ्नै क्षेत्रको खेलकुद मन्त्रि र मन्त्रि संगको निकट सम्वन्ध भएकाले उनले खेलकुद मन्त्रि मार्पmत अध्यक्ष पदका लागि लविङ गरिरहेको जानकारहरु बताउँछन ।
पोखरा महानगर वडा नं १५ का निर्वाचित सदस्य तोरण बहादुर वानिया समेत अध्यक्षको पदका लागि दावेदार रहेको बताएका छन । उनी कास्की जिल्ला समन्वय समितीका सदस्य समेत हुन । नेपाल सितोरियो सिकोकाई कराते संघको केन्द्रिय सदस्य समेत रहेका बानियाले यति बेला आफू अध्यक्ष पदका लागि लविङलाई तिव्र पारेका छन । उनी वेलनन एकेडेमीका संस्थापक संचालक हुन भने तेक्वान्दोका व्यालेक वेल्ट तथा वडा नं १५ का फुटबल खेलाडी समेत रहेका थिए । उनी पोखराका पर्यटन व्यवसायी समेत रहेका छन ।
कास्की जिल्ला खेलकुदको अध्यक्षका लागि आधा दर्जन भन्दा वढी आकाक्षीं नौलो कुरा होइन । बास्तविकता देशले चाहेको खेलकुद बिकास गर्नु र खेलकुद मार्फत आर्थिक समृद्धी हासिल गर्नु हो । पदका लागि मात्रै कार्यक्रर्ता थुम्थुम्याउने ठाउँ अव खेलकुद कदापी बन्नु हुँदैन । परिणाम आवश्यक छ चाहे जो सुकै अध्यक्ष बनोस ।
