टाइगर कप : थाइल्यान्डको सान्त्वना जित, एपिएफ पहिलो क्वालिफायरमा

पोखरा स्पोर्टस । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ ।

पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निक९ाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो ।

पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वारीलाई सुम्पियो ।

प्रतियोगिता अन्तर्गत अब महिलातर्फ पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।

एपिएफ पहिलो क्वालिफायरमा
सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।

लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो । एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रुपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।

एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पुर्‍याएको थियो । तर, त्यसपछि भने एपिएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो क्वालिफायरमा पुनः एपिएफ र टाइगर ग्रुपबिच बिहीबार प्रतिष्पर्धा हुनेछ ।

यसअघि आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो ।

अब पुरुषतर्फका खेल सुरु हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close