
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा दर्ताको १० दिन बाँकी हुँदा उत्साहजनक दर्ता प्रक्रिया अघि बढेको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आकषर्णको रुपमा म्याराथन ((४२.१९५ किमि)खुल्लातर्फ ८२ जनाले नाम दर्ता गराएका हुन् । यो दर्ता विगतमा भन्दा बढेको मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् । उनले भने–“अझै १० दिन बाँकी छ । तर यो दर्ता प्रक्रिया विशेष गरी विदेशी धावकहरूको आकषर्ण निकै उत्साहजनक छ ।” उनका अनुसार यो वर्ष म्याराथनतर्फ २ सय भन्दा बढिले नाम दर्ता गर्ने आकंलन गरिएको छ ।
पोखरा म्याराथनलाई व्यवस्थित र सहज बनाउन ८ दिन अघि नै दर्ता प्रक्रिया बन्द हुने मञ्चले जनाएको छ । विगतमा दुई दिन अघि सम्म दर्ता हुनेमा यो वर्षको दर्ता प्रक्रियालाई चाँडो बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गुरूङले बताए । दर्ता प्रक्रिया माघ २४ गते सम्म मात्रै हुने उनले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १४ वटा क्याटोगरीहरु हुने छन् । जसअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि दौड, हाफ म्याराथन महिला/पुरुष दौड, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन महिला/पुरुष दौड, ५० वर्ष भन्दा माथी ५ किमि भेट्रान्स महिला/पुरुष दौड हुनेछन् भने संगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिने ‘रन फर फन’ हुनेछ ।
म्याराथनलगायत विभन्नि इभेन्टमा दर्ता प्रक्रिया १० दिन बाँकी हुँदा केन्यासहित ३० भन्दा बढि मुलुकका धावकहरु फागुन ३ गते पोखराको सडकमा दौडनेछन् । देशकै पहिलो र सर्वाधिक नगद पुरस्कार राशी रहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १४ वटा विभिन्न क्याटोगरीमा हुनेछन् । म्याराथनतर्फ मित्रराष्ट्र भारत, चिन, वंगालादेशका धावकहरु समेत यसपटक पोखराको सडकमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।
पहिलो पटक हाफ म्याराथन पुरुषतर्फ समेत विदेशी धावकहरुको आकषर्ण रहेको छ । जसमा नेपाली धावकसहित ५० जनाले नाम दर्ता गराइसकेका छन् भने महिलातर्फ १५ जनाले आफ्नो नाम दर्ता गराएको निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।
यस्तै आकषर्णको रुपमा १० किमि रोडरेसमा समेत धेरै देशका धावकहरुले आफ्ना नाम दर्ता गराएका छन् । जसमा पुरुष र महिलातर्फ गरी १ सय भन्दा बढिले पोखरामा दौडन आउने गरी नाम दर्ता गराएका छन् । यसैगरी ५ किमि महिला तथा पुरुष भेट्रान्स र ५ किमि छात्र/छात्रा दौडमा समेत विगतका वर्षहरु भन्दा यस वर्ष अनलाइन दर्ता गर्ने अभियान बढेको मञ्चले जनाएको छ ।
“हाम्रो दर्ता प्रक्रिया अनलाइन बाटै मात्र हुन्छ”, अध्यक्ष गुरूङले भने–“हामी दर्ता प्रक्रिया पुरै ‘पेपर लेस’ प्रविधिमैत्री बनाएका छौं । विश्वका कुनै पनि मुलुकबाट र नेपालको कुनै पनि ठाउँबाट दर्ता सहजरुपमा हुन्छ”,–अध्यक्ष गुरूङले भने । यो वर्ष १५ हजार भन्दा बढि पोखराको सडकमा दौडने र सिङ्गो पोखरालाई दौडको शहरको रुपमा अघि बढाउन पोखरा म्याराथन महत्वपूर्ण हुने उनले बताए ।
