
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा एथलेटिक्स खेलको विकास तथा खेलाडी उत्पादनका लागि सुरू गरिएको अक्षयकोष संकलन अभियानमा एकै दिन करिव १० लाख रकम संकलन भएको छ ।
नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले सुरू गरेको अक्षयकोष अभियानमा अध्यक्ष दिल बहादुर गुरूङले आफ्नो स्वर्गिय श्रीमती ज्ञानु माया घलेको नाउँमा नगद रु ३ लाख दिने घोषणा गरेका हुन् । अध्यक्ष गुरूङले ‘स्व. ज्ञानु माया घले स्मृती अक्षयकोष’को नाउँमा सो रकम दिने घोषणा गरेका हुन् । सो अक्षयकोषमा अध्यक्ष गुरूङसहित उनका छोरा प्रतिक गुरूङ, बुहारी कृष्टिना, छोरी प्रतिज्ञा र ज्वाँइ प्रोमिस गुरूङले संयुक्त रुपमा सहयोग गर्नेछन् ।
यसै गरी अक्षयकोष स्थापनाको घोषणा गर्दै मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले आफ्नो स्वर्गिय वुवा तेजबहादुर, आमाहरु शिवकला र खम्व कुमारी, श्रीमती विष्णु भट्टचनको सम्झनामा छोराहरू कमल, कपिल, कमलेश, श्रीमती सकुन सिंह ठकुरीसहितले नगद रु १ लाख ११ हजार १११ दिने घोषणा गरेका छन् ।
त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्ना स्वर्गिय वुवा भोजराज पराजुली र आमा यमकलाको स्मृतीमा १ लाख ७ हजार ७७७ प्रदान गर्ने घोषणा गरे भने पूर्व अध्यक्ष तेज बहादुर गुरूङले आफ्ना बुवा र आमाको स्मृतीमा स्थापित इन्द्र÷मनबहादुर गुरूङ अक्षयकोषबाट मञ्चको अक्षयकोषको लागि नगद १ लाख ११ हजार १११ दिने घोषणा गरेका छन् ।
मञ्चद्वारा स्थापित अक्षयकोष अभियानमा मञ्चका सल्लाहकार समितिका संयोजक मेजर दिल बहादुर गुरूङले आफ्ना स्वर्गिय माता पिता बखत बहादुर र कन्या कुमारी (गौरा)को स्मृतीमा नगद १ लाख ११ हजार १११ र मञ्चका सल्लाहकार महेश गुरूङले नगद १ लाख १ हजार १११ दिने घोषणा गर्दै स्वदेश तथा विदेशबाट यो अभियानमा जुटाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए ।
त्यसै गरी मञ्चले सुरू गरेको यो अभियान महत्वपूर्ण रहेको र खेलकुद विकासका लागि कोशेढुङ्गा हुने बताउँदै पोखरा १४ निवासी समाजसेवी एवं मञ्चका आजिवन सदस्य पदम कार्कीले नगद १ लाख १ हजार १११ दिने घोषणा गरेका छन् भने मञ्चकै कार्यसमिति सदस्य एवं गण्डकी प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्याम श्रेष्ठले ५१ हजार दिने घोषणा गरेका छन् ।
स्मरणिय के छ भने मञ्चले सुरू गरेको अक्षयकोष स्थापनाका लागि युके निवासी समाजसेवी योगेश गुरूङले यूकेमा संकलित ८ लाख यस अघि नै प्रदान गरिसकेका छन् ।
२ करोडको अक्षयकोष स्थापना गर्ने अभियानका साथ सुरू गरिएको अक्षयकोष संकलन अभियानले अब मुर्तरुप पाउनेमा आफू विश्वस्त रहेको अध्यक्ष गुरूङले जनाएका छन् । उनले भने–“यो अक्षयकोष केवल रकम संकलनका मात्रै गरेका होइनौं । यसमा एथलेटिक्स खेलको विकासका लागि यूवा खेलाडी उत्पादन संगै मञ्चले सुरू गरेको साप्ताहिक/मासिक दौड र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हो ।” उनले अक्षयकोषको रकम जसले जुन उद्धेश्यका लागि दिन्छ त्यही उद्धेश्यमा अक्षयकोषको व्याजबाट मात्रै सञ्चालन गरिने बताए ।
