
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले सुचिकृत भएका रेफ्रि र प्रशिक्षकहरुको विमा गर्ने तयारी सुरु गरेको छ ।
सुचिकरणको लागि ३५ दिने सूचना प्रकाशित गरेको परिषदले सूचिकृत भएका सबैको विमा समेत गर्ने तयारी सुरु गरेको हो । सो बारे जानकारी दिंदै परिषदका सदस्य सचिव श्रीधर शर्माले आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट सबैको विमा गरिने जानकारी दिए ।
परिषदले गत साउन १ गते एक ३५ दिने सूचना प्रकाशित गरि रेफ्रि, निर्णायक, जज, प्रशिक्षक तथा खेलस्थलहरुको समेत सूचीदर्ताका लागि आह्वान गरे संगै जिल्ला खेलकुद विकास समितिहरुमा सूचिकृत अभियान जारी रहेकै बेला परिषदले सबैको विमाको तयारी सुरु गरेको जानकारी दिंदै सदस्य सचिव शर्माले भने–“हामीले उहाँहरुलाई सूचिकृत गर्न आह्वान गरेका छौं । तद्अनुरुप जिल्ला–जिल्लामा उहाँहरुले सूचिकरण गर्दै हुनुहुन्छ भने परिषदले विमाको तयारी समेत सुरु गरेको छ ।”
परिषदले सबैको अपनत्व प्रदान गरि प्रदेशको खेलकुद विकास अभियानमा संगै अघि बढाउन विमा कार्यक्रमले सहयोग पुग्ने सदस्य सचिव शर्माले बताए । “उहाँहरु सूचिकृत हुने मात्रै कुरा होइन । सूचिकृत भए संगै उहाँहरुलाई परिषदले उपलव्ध गराउने सेवा पनि अर्को महत्वपूर्ण पाटो हो”, शर्माले भने–“३५ दिन भित्र सूचिकृत भए संगै हामीले उहाँहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम पनि समावेश गर्दैछौं ।”
आगामी दिनमा आयोजना हुने खेलकुद प्रतियोगिताहरुमा सूचिकृत भएका प्रशिक्षक, रेफ्रि र निर्णायकहरुले मात्रै सञ्चालन गर्न पाउने विषय कडाईका साथ लागु गर्ने बताउँदै उनीहरुको अभिलेखिकरणको अधिकार प्रदेश खेलकुद परिषद संग मात्रै रहेको सदस्य सचिव शर्माले बताए । प्रतियोगिताहरु आयोजना हुँदा निजि क्षेत्र खेल संघ संस्था अनिवार्य सूचिकृतका लागि समेत अनुरोध गरेको छ भने जिल्ला जिल्लामा आयोजना हुने प्रतियोगिताहरुलाई सूचिकृत खेल प्रशिक्षण केन्द्र हो वा होइन त्यस बारे समेत कडाईका साथ अनुगमन गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई समेत निर्देशन गरेको छ ।
यसै गरी परिषदले बुधबार पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिलाई समेत पत्रचार गर्दै प्रशिक्षण केन्द्रको विवरण र प्रतियोगिताको अनुमती तथा सहमतिका लागि साथै खेल प्रशिक्षकहरुको सूचिकृतका लागि आवश्यक सहयोग गर्न भनेको छ ।
