
पोखरा, ८ असार । नेपाल केन्पोकाई संघले आफ्ना खेलाडीहरुको बेल्ट टेष्ट सम्पन्न गरेको छ । पोखरा रंगशाला केन्पोकाईको आफ्नै प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा विभिन्न बेल्ट टेष्टमा ७४ जना खेलाडी दिक्षित भएको केन्पोकाईका साउथ एशियन मुख्य प्रशिक्षक नाराज खडका (हरि)ले बताए ।
यसरी दिक्षित हुनेमा ब्ल्याक् बेल्ट तर्फ १०, ब्लु बेल्ट तर्फ १८, ओरेन्ज बेल्ट तर्फ २२ र येल्लो बेल्ट तर्फ २४ जना रहेको मुख्य प्रशिक्षक हरिले जानकारी दिए । दिक्षित भएका सबै खेलाडी गण्डकी प्रदेश स्तरका रहेको उनले जनाएका छन । बेल्ट दिक्षित कार्यक्रममा विभिन्न उमेर समुहका खेलाडीले डेमोस्ट्रेसन समेत गरेका थिए ।
दिक्षित भएका खेलाडीलाई एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले प्रमाणपत्र र बेल्ट वितरण गरेका थिए । सो अबसरमा उनले नेपालका लागि केन्पोकाई खेल सम्भावनायूक्त खेल रहेकोले यसको बिकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए । उनले खेलाडीलाई परेको समस्याका बारेमा चर्चा गर्दै राष्ट्रको झण्डा माथी उठाउने र राष्ट्रको गौरब बढाउने खेलाडीलाई सबैले सहयोग गर्नु पर्ने खाँचो औंल्याए ।
जापानिज मार्शल आर्ट खेल केन्पोकाई नेपालमा भने सन २०१२ बाट शुरु भएको हो । हाल नेपालका १८ जिल्लामा केन्पोकाईको खेल हुँदै आएको छ । यो खेल निकै आर्कषक र शुरक्षित खेल मानिन्छ । कार्यक्रम मुख्य प्रशिक्षक खडकाको अध्यक्षतामा भएको थियो ।
