
पोखरा स्पोर्टस । पाँचौ एनसेल टाइगर कप भलिबल प्रतियोगिताको शुरक्षा व्यवस्था चुस्त बनाउने यहाँस्थित शुरक्षा प्रमुखहरूले प्रतिवद्धता व्यक्त गरेका छन् ।
पोखरामा बुधबार टाइगर कप भलिबल प्रतियोगिताको आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल र शुरक्षा प्रमुखहरु बीच सम्पन्न छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि माघ १२ गते देखि १९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुँदैछ ।
प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीका अनुसार प्रतियोगिताका लागि आउने विभिन्न क्लबका खेलाडीहरु, उनीहरुको आवाश स्थल संगै टिममा समावेश हुने विदेशी खेलाडी लगायत प्रतियोगिता स्थलको समेतलाई शुरक्षा व्यवस्था चुस्त बनाउने गरी छलफल भएको छ । “यो प्रतियोगिता पोखरा विशेषको मात्रै रहेन । राष्टिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उत्तिकै चर्चा छ । यहाँ आउने पाहुना खेलाडीसहित टिमहरूको यातायत व्यवस्था समेतलाई चुस्त बनाउनु छ”, उनले भने–“त्यसैले पनि आज शुरक्षा प्रमुखहरु संगको छलफल निकै प्रभावकारी रह्यो ।”
सम्पन्न छलफलमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, पश्चिम पृतनाका पृतनापति उपरथी मधुकर सिंह कार्की, पोखरा महानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराम चौलागाई, गण्डकी प्रदेशका प्रहरीका प्रहरी नायव महानिरिक्षक बलबहादुर राउत, शसस्त्र प्रहरीबल नं ४ बाहिनीपति कुल बहादुर नेम्वाङसहित जिल्ला प्रहरी, ट्राफिक प्रहरी र विभिन्न वडा प्रहरी कार्यालयका प्रमुखहरूको छलफलमा सहभागिता रहेको सचिव डिबी नेपालीले जानकारी दिए ।
छलफल कार्यक्रममा अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिता सफल बनाउन शुरक्षा प्रमुख ज्यूहरुले लिएको चासो प्रति धन्यबाद व्यक्त गर्दै प्रतियोगितालाई भव्य बनाउनेतर्फ आयोजकले कुनै कसर बाँकी नराख्ने जनाएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबको सहभागिता हुनेछ । त्यसै गरी श्रीलंकाको लिग बिजेता टोली श्रीलंकन भलिबल टिम बिदेशी क्लबको रुपमा सहभागिता हुने आयोजकले जनाएको छ ।
त्यसै गरी आयोजकले पहिलो पटक महिलातर्फ पाँचौ संस्करणको टाइगर कपमा मैदानमा उतार्ने छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालको टिमसहित विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब संगै बिदेशी क्लब थाइल्याण्डको युनाईटेड प्यासन भलिबल क्लबको सहभागिता हुने छ ।
प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५ लाख ८५ हजार ५ सय ५५, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान नगद रु २५ हजार ७ सय ७७, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले समान नगद रु १० हजार ५ सय ५५ का साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब तथा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेका थिए । गण्डकी प्रदेश भने उपबिजेतामा सिमित रहेको थियो ।
