
पोखरा स्पोर्टस । ‘पोखरा कप’ राष्ट्रिय पुरूष बास्केटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
पोखरा रंगशाला बास्केटबल कोर्टमा भोली (सोमबार) माघ ७ गते देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हो । प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको गण्डकी प्रदेश बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरूङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता हुनेछ ।
दुई समुहमा विभाजित टिमको सुमह ‘ए’मा बागमती, कर्णाली र कोशी प्रदेश रहेका छन् भने समुह ‘बी’मा गण्डकी, मधेश र लुम्विनी रहेका छन् । भोली (सोमबार) बिहान १० बजेबाट पहिलो चरणका खेलहरू सुरू हुने आयोजकले जनाएको छ । उद्घाटन खेल दिउसो साढे १ बजे आयोजक गण्डकी र लुम्बिनीका बीच हुने भएको छ ।
प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद रु १ लाख ११ हजार १११, उपविजेतालाई नगद रु ६६ हजार ६६६ र तेस्रो हुने टिमलाई नगद रु ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने प्रदेश खेलकुद परिषदका उपाध्यक्ष समेत रहेका संघका अध्यक्ष गुरूङले बताए ।
प्रतियोगिताको उद्घाटन सोमबार गण्डकी प्रदेश सरकारका समाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गर्ने तय भएको छ ।
नवौं राष्ट्रिय खेलकुद पश्चात राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता पहिलो पटक हुन लागेको हो ।
