यस पटक पोखरा म्याराथनको आवाज–‘पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान’

पोखरा स्पोर्टस । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको दुई वर्ष बढि भयो । वर्षमा एकाध बाहेक अन्तर्राष्ट्रिय विमान हुन सकेको छैन । त्यही पनि चार्टरमार्फत । अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पोखरेलीहरूको अनुहार उज्यालो छैन । पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत विश्वलाई जोड्ने प्रयासहरु असफल जस्तै भएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीहरूले ठूलो संघर्ष गर्नु परेको तितो यथार्थ हाम्रो सामु छ । विमानस्थल बन्यो । राम्रो भयो । आशाका दियो धपक्क बले । तर अब कतै निभ्ने तर्खरमा पोखरेलीहरूको उत्तिकै चिन्ता छ । तर सरोकारवालाहरू चुप–चाप छन् । कसैले बिआरआई । कसैले के त कसैले के । अल्झिरहेको छ । बल्झिरहेको छ । जसरी निर्माणका लागि नागरिक समाज जुरुक्क उठ्यो अब सञ्चालनका लागि पनि त्यो खाँचो अनुभुत भएको छ ।

त्यही आवश्यक्तामा नेपाली अग्रज खेलाडीहरूको एक मात्र छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’ जुर्मुराएको छ । १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियामित अन्तर्राष्ट्रिय हुनु पर्छ भन्ने अवाजलाई खेलकुदमार्फत अघि बढाउँदैछ । केन्द्रिकृत मानसिकतामा रहेको काठमाण्डौ राजधानी र संघियता पश्चात पनि त्यसलाई चिर्न नसकेको हाम्रो राज्य प्रणालीका कारणले पनि नियामित अन्तर्राष्ट्रियमा बाधा आएको एक पक्षको भनाई छ ।

तर अव परिवेश फेरिएको छ । २०५९ सालमा यहि संस्था हो जसले पोखरा रंगशालाको जग्गा संरक्षण अभियान सुरू गरेर नेपाल सरकारको ४१७ रोपनी जग्गा संरक्षणलाई मुर्तरूप दिएको थियो । कहिल्यै नर्विसिने पोखरेली नागरिक समाजको उपहार ‘रंगशालाको पर्खाल’ । त्यो इतिहास थियो । तर हामी यतिबेला वर्तमान छौं । अहिलेको तत्कालिक अवस्था भनेको नै नियामित अन्तर्राष्ट्रिय उडान हो । जो पोखराबाट हुनु पर्छ । खर्वौंको लगानीमा नेपाली जनताको करबाट निर्माण र चिनको समयमा ऋण तिर्ने नै हो भने नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक छ । जुन आवाज अव १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गुञ्जिने छ ।

फागुन ३ गते शनिबार पोखरा अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । दक्षिण एसियाको दोस्रो र नेपालकै जेठो म्याराथनको चर्चा यति बेला विश्वमा छ । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको भनाई सापटी लिने हो भने पनि म्याराथन आउन २७ दिन बाँकी हुँदा ३० देशका धावकहरुले आफ्नो नाम दर्ता गराएका छन् । ‘हामी पोखराको समृद्धि खेलकुदमार्फत देखेका छौं । हामी त्यही सपना बोक्छौं । त्यसैलाई पुरा गर्न लागि परेका छौं’, अध्यक्ष गुरूङ भन्छन्–‘पोखरामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको बाधक यति बेला विमानस्थल बनेको छ । कुनै पनि मुलुकबाट सोझै उडान नहुने यो अन्तर्राष्ट्रिय विमानस्थलले पोखरेलीहरुलाई गिज्याएको छ । यदि अन्तर्राष्ट्रिय उडान सहज हुन्थ्यो भने १ सय भन्दा बढि देशका धावक यति बेला पोखरा आइपुग्थे ।’

निर्माण पुरा भएर पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा बाधा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यतिबेला पोखराको समृद्धिको बाधक बनेको पोखरेलीहरूका् ठम्याई छ । खेलकुदमार्फत पोखरेली नागरिकहरू अब बोल्ने बेला आएको छ । म्याराथनको आयोजक संस्थाले यो आवाजलाई घनिभुत बनाउन नारालाई अघि सारेको छ । यो आवाज पोखरा म्याराथनको रुट भित्रको हरेक टोल र घरको आवाज बन्नेमा कुनै दुई मत छैन । धावकहरूका पदचापहरूले मञ्चको त्यो आवाजलाई अझै बुलन्द पार्नेछ । अनि एक दिन पोखरेलीहरू सोझै कतार, हङकङ, दुवई, भारत बैङ्कका मुलुकहरूमा सोझै पोखराबाट जाने छौं अनि उताबाट फर्किने छौं । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close