
पोखरा स्पोर्टस । पोखराको पहिलो सामाजिक संस्था पोखरा उद्योग बाणिज्य संघका पदाधिकारीहरुले नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आविन सदस्यता ग्रहण गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित एक कार्यक्रममा उनीहरुलाई सदस्यताको पत्र वितरण गरिएको हो । मञ्चको आजिवन सदस्यता ग्रहण गर्नेहरुमा निवर्तमान अध्यक्ष पवन कुमार प्रजापती, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) दिनेश चन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) बलराम आचार्य, महासचिव शोभा गौतम, कोषाध्यक्ष मनोज कुमार श्रेष्ठ, कार्यसमिति सदस्य देवेन्द्र प्रजु रहेका छन् ।
मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, पूर्व अध्यक्ष तेज बहादुर गुरुङले आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गर्दै उनीहरुलाई स्वागत गरेका थिए ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की भने यस अघि नै आजिवन सदस्यता लिइसकेका छन् । उनी मञ्चको सल्लाहकार समेत हुन् । अध्यक्ष कार्कीले सो अवसरमा पोखराको विकासका लागि खेलकुद समेत एक महत्वपूर्ण कार्यक्रम मध्येको एक रहेको बताउँदै फागुन ३ गते हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन पोखरेली उद्योगी व्यवसायीहरुको सहयोग रहने बताए । उनले आसन्न पोखरा म्याराथनका लागि आफ्नो तर्फबाट पुरस्कार दिने घोषणा समेत गरे । उनले पोखरा उद्योग वाणिज्य संघले माघ १० गतेबाट आयोजना गर्न लागेको उद्योग मेला सफल बनाउन आग्रह समेत गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बुद्धाचार्यले खेलकुद क्षेत्रमा अग्रणी संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आजिवन सदस्यता लिन पाउनु गौरवको विषय रहेको बताउँदै पोखरा अन्तर्राष्ट्रिय म्याराथन लगायत मञ्चका कार्यक्रमहरु सफल बनाउन आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए ।
सो अवसरमा मञ्चका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय उपसमितिका संयोजक गुरूङले पोखरा म्याराथन, साप्ताहिक/मासिक दौडलगायत मञ्चको गतिविधि बारे प्रकाश पारेका थिए ।
