आहा ! रारा फुटबल दैनिक टिकट काटेर हेरौं- ५ हजार नगद जितौं !

पोखरा स्पोर्टस । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सो पुरस्कारको सम्पूर्ण खर्च रकम सहारा एफ.सी.यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गर्ने भएका हुन् ।

सो सम्बन्धमा मंगलबार आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत समेत गरेको छ ।

सो अवसरमा क्लबका सदस्य एवं पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, मानार्थ सदस्य महेश गुरुङ, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्षद्वय विक्रम थकाली र वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, सचिव टंकप्रसाद पौडेल, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितको सहभागिता थियो ।

यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४ औं संस्करणको सो प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिम टुंगो लागिसकेको छ ।

जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखराको टुङ्गो लागेको हो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हुनेछ । त्यसवापत एक अनलाइनले क्लबलाई ५ लाख दिएर प्रसारणको सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनिल गुरुङले जनाए ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो ।

क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । क्लबले पोखरा रंगशालासम्म दर्शकलाई आकर्षित गर्न होल बडी चेक अप, आँखा जाँच, विभिन्न बम्पर उपहारलगायत व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close