
पोखरा स्पोर्टस । ‘पाँचौ एनसेल टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ मा सहभागि हुने दुई विदेशी क्लबसहित सम्पूर्ण टिमको टुङ्गो लागेको छ ।
टाइगर ग्रुपले मंगलबार एक प्रेश विज्ञप्तीमार्फत सहभागि हुने टिमको जानकारी दिंदै पहिलो पटक महिलातर्फ आयोजक टिम मैदानमा उत्रिने जनाएको हो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माका अनुसार पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबको सहभागिता हुनेछ । त्यसै गरी श्रीलंकाको लिग बिजेता टोली श्रीलंकन भलिबल टिम बिदेशी क्लबको रुपमा सहभागिता हुने आयोजकले जनाएको छ ।
त्यसै गरी आयोजकले पहिलो पटक महिलातर्फ पाँचौ संस्करणको टाइगर कपमा मैदानमा उतार्ने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालको टिमसहित विभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब संगै बिदेशी क्लब थाइल्याण्डको युनाईटेड प्यासन भलिबल क्लबको सहभागिता हुने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जनाएका छन् ।
यहि माघ १२ गते देखि १९ गते सम्म आयोजना हुने ‘पाँचौ एनसेल टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ को पहिलो चरणको काम सकिएको संस्थाका सचिव डिवी नेपालीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५ लाख ८५ हजार ५ सय ५५, उपविजेताले २ लाख ८५ हजार ५ सय ५५ र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसै गरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान नगद रु २५ हजार ७ सय ७७, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकले समान नगद रु १० हजार ५ सय ५५ का साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब तथा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेका थिए । गण्डकी प्रदेश भने उपबिजेतामा सिमित रहेको थियो ।
