
पोखरा स्पोर्टस । पोखरा लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्टमा जारी ‘गुरुङ भिलेज फेयरवेल टेनिस प्रतियोगिता’मा सेमीफाइनल समिकरण पुरा भएको छ ।
आयोजकका पदम बहादुर गुरूङका अनुसार जारी प्रतियोगितामा भोली (सोमबार) सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् । आइतबार सम्पन्न क्वाटरफाइनलमा राजन पौडेलले लक्ष्मण लामालाइ ६–१, ६–१ ले पराजित गरे भने दोस्रो खेलमा नविन श्रेष्ठले विकास गुरुङलाई ४–६, ६–१ (१०–४)ले पराजित गरे ।
इतिहासका पानामा समेटिदै गुरुङ भिलेज टेनिस कोर्ट
पोखरा ६ लेकसाइड डिहिकोपाटनमा रहेको गुरुङ भिलेज रिर्सोटले आज भन्दा १६ वर्ष अघि स्वदेशी र विदेशी टेनिस खेलाडीहरुलाई आकर्षित र उनीहरुको पोखरा बसाई लम्व्याउन निर्माण गरिएको हो । समयक्रममा गुरुङ भिलेजले विभिन्न प्रतियोगिताहरु समेत आयोजना गर्दै यूवा पर्यटन व्यवसायीहरुलाई समेत टेनिस खेलमा आकर्षण गर्न सफल भयो । गुरुङ भिलेज टेनिस कोर्टले खेलाडी उत्पादन भूमिका खेलेको छ भने टेनिस नेतृत्वमा समेत उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ । हाल टेनिस कोर्ट रहेको जग्गामा नयाँ परियोजना आउने भए संगै १६ वर्ष पुरानो इतिहासलाई स्मरण स्वरुप उक्त प्रतियोगिता आयोजना गरिएको सो टेनिस कोर्टका संस्थापक पदम बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो टेनिस कोर्टमा अब अन्तिम चरणको खेल हुनेछ । हामी इतिहासलाई शाक्षी राख्दै र विगतका ति पलहरुलाई यादगार बनाउँदै अन्तिम खेलहरु सम्पन्न गर्दैछौं । अब यो कोर्ट इतिहासका पानामा समिटिने छ ।”
त्यसै गरी अर्को खेलमा धरम लामिछानेले नविन चालिसेलाई ६–१, ६–३ ले र गोपी बहादुर भट्टराईले नारायण पाहारीलाई ६–३, ६–४ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।
भोली हुने सेमीफाइनलमा नविन श्रेष्ठले गोपी बहादुर भट्टराईको सामना गर्नेछन् भने दोस्रो खेलमा राजनले धरम लामिछाने विरुद्ध खेल्नेछन् ।
