
पोखरा स्पोर्टस । कास्की जिल्ला फुटबल संघ संग आवद्ध कास्कीका फुटबल क्लबहरुले आसन्न २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पोखरामा शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध क्लबहरु संग आयोजित छलफल कार्यक्रममा उनीहरुले उक्त प्रतिवद्धता जनाएका हुन् । कास्की फुटबल संघका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका सहभागि प्रतिनिधीहरुले आहा ! रारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण फुटबल खस्किदै गएको बताउँदै यस्ता प्रतियोगिताहरुले यूवाहरुमा फुटबलको क्रेज बढाउन सहयोग पुग्ने जनाए ।
सहारा क्लबका पूर्व अध्यक्ष एवं प्रतियोगिता संघ/संस्था समन्वय समिति संयोजक वीरभद्र आचार्यले सबै जनाको उत्साहपूर्ण उपस्थितिले अन्तरक्रिया निकै फलदायी भएको बताए । उनले भने,“उहाँहरु सबै जनाले यो प्रतियोगितालाई आफ्नै प्रतियोगिता ठानी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । हामीलाई लाग्छ, प्रतियोगिता आधा सफल भइसकेको छ ।’’
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लब सचिव एवं संघसंस्था समन्वय समिति सचिव टंकप्रसाद पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष एवं क्लबका मानार्थ सदस्य महेश गुरुङ, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, सहाराका पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यहरुको सहभागिता थियो ।
क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आहारारा पोखरा गोल्डकप आयोजना गर्दैछ । प्रतियोगिताबाट बचत रकम सहाराले दोबिल्लामा संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडमीमा खर्चिंदै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
