पोखरा स्पोर्टस । शारिरीक सुगठन खेलको विकास एवं प्रवर्द्धनमा कृयाशिल बुल्समेन क्लबले अक्षय कोष स्थापना र आजिवन सदस्यता अभियान अघि बढाउने भएको छ ।

पोखरामा शुक्रबार भएको क्लबको बैठकमा अध्यक्ष नुना गुरूङले क्लबलाई आर्थिक रुपमा बलियो बनाउने अभियानअन्तर्गत अक्षयकोष स्थापना र आजिवन सदस्यताको कार्यक्रमलाई अघि बढाएको बताएका छन् । बैठकलाई सम्वोधन गर्दै अध्यक्ष गुरूङले क्लबको ब्यवसायिकता अहिलेको प्रमुख आवश्यक्ता रहेको औंल्याए । उनले भने–“क्लब जुन स्थानमा छ त्यसलाई माथि उठाउन यो अभियान अघि बढाएका छौं । हरेक सदस्यले त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नु हुनेछ ।”
क्लब स्थापना विशेष उद्धेश्यका साथ भएको बताउँदै अध्यक्ष गुरूङले नेपाली खेलकुदमा क्लबले योगदान दिए पनि राज्यले त्यसलाई आत्मसाथ नगरेको बताए । स्वदेश तथा विदेशबाट क्लबलाई दिएको उच्च सम्मानकै कारण चौथो संस्करणको बुल्समेन प्रतियोगिता सम्पन्न गर्न सम्भव रहेको बताउँदै उनले क्लबको यो अभियानमा हरेक सदस्यहरुको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
बैठकमा बुल्समेन क्लबका संस्थापक इश्वर गुरूङले क्लबले सुरू गरेको अभियानमा साथ दिने घोषणा गर्दै अध्यक्षकोष स्थापनाका लागि व्यक्तिगत नगद १ लाख बैठकमा नै अध्यक्ष गुरूङलाई हस्तान्तरण गरे । संस्थापक गुरूङले बुल्समेनको शाखलाई जोगाउन यो अभियान महत्वपूर्ण रहेको जनाउँदै सबैलाई साथ र सहयोग गर्न आह्वान समेत गरे । उनले भने–“यो क्लबको महत्वपूर्ण निर्णय हो । अब म आजिवन सदस्य बन्ने घोषणा समेत गर्छु ।” क्लबको सक्रियताले नै शारिरिक सुगठन खेलले विशेष स्थान पाएको बताउँदै आफूले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे ।
सो अवसरमा संस्थापक गुरूङले पाँचौ सस्करणको टाइगर कप भलिबल प्रतियोगिताका लागि नगद १० हजार टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मालाई हस्तान्तरण गरे । केही समयका लागि कर्मथलो हङकङबाट स्वदेश आएका उनलाई क्लबले शुखद यात्राको कामनासहित विदाई गरेको छ ।
बैठकमा आफ्ना भनाई राख्दै क्लबका प्रमुख संरक्षक सुनिल गुरूङले अक्षयकोष स्थापना र आजिवन सदस्य अभियान क्लबको जिवन्तताका लागि महत्व राख्ने जनाए । उनले क्लबको यो अभियानमा जोडीन सबैलाई आह्वान गर्दै क्लबको आर्थिक पारदर्शिता र शुसासन अर्को महत्वपूर्ण पक्ष रहेको औंल्याए ।
सो अवसरमा क्लवका सल्लाहकार एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले क्लबको अभियानमा आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गर्दै क्लबका कार्यक्रमहरुमा टाइगर ग्रुपका तर्फबाट संस्थागत सहयोग हुने जनाए ।
त्यस्तै क्लबका सल्लाहकार ओम बस्नेतले नेपाली खेलकुदमा काम गर्ने संस्थाहरुलाई राज्यको सहयोग नहुँदा समस्यामा परेको बताए । उनले अन्तर्राष्ट्रिय ऐरिनामा सम्भावना भएको शारिरिक सुगठन खेललाई सहयोग नहुँदा खेलाडीहरुको पलायन बढ्दै गएको र जितेर आउँदा समेत खेलाडीहरुको सम्मान हुन नसकेको बताउँदै उनले क्लबको अभियानमा आफ्नो सहयोग रहने बताए ।
२०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले जनाएका छन् । सम्पन्न बैठकमा क्लबको सदस्यता लिएका तीनजनालाई अध्यक्ष गुरूङले स्वागत गरेका थिए ।
