
पोखरा स्पोर्टस । विद्यालयमा खेलकुदलाई प्रभावकारी रुपमा अघि बढाउन ‘विद्यालय खेलकुद शिक्षक तालिम’ पोखरामा सुरू भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा उक्त प्रशिक्षण कार्यक्रम सुरू भएको हो । संघिय सरकार यूवा तथा खेलकुद मन्त्रालयको वित्तिय सहयोगमा प्रशिक्षण सञ्चालन गरिएको शिक्षा तालिम केन्द्रले जनाएको छ ।

सो प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गरे । सो अवसरमा सदस्य सचिब शर्माले विद्यालय खेलाडी उत्पादनको थलो भएको जनाउँदै शिक्षकहरुलाई दिइने यस प्रकारको प्रशिक्षण खेलकुद विकासका लागि प्रभावकारी हुने बताए । विद्यार्थीहरुको शारिरिक र मानशिक सन्तुलनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै आफले सिकेको शिप व्यवहारमा लागु गर्न आग्रह गरे । खेलकुदमा शिक्षाको उत्तिकै महत्व रहेको जनाउँदै समाजमा अनुशासित र मर्यादित जनशक्ति उत्पादनमा समेत शिक्षकहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने उनले बताए ।
खेलकुदमा बजेट बढाउन सके मात्रै खेलाडीहरुको सुविधा बढ्न सक्ने जनाउँदै सदस्य सचिब शर्माले परिषदले तोकिएको समयमा विधि सम्मत नविकरण नगरेका खेल संघहरुलाई कार्वाहीको दायरामा ल्याउँदै खेलकुदका विकृती विसङ्गती हटाउन पहल गरिरहेको जनाए ।
सो अवसरमा आफ्ना भनाई राख्दै सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्रालय अन्तर्गत खेलकुद महाशाखा प्रमुख प्रकाश देवकोटाले शिक्षकहरुको व्यक्तिगत शिप संगै विद्यालय खेलकुदको जग बलियो बनाउन प्रशिक्षण आवश्यक रहेको बताउँदै अतिरिक्त कृयाकलापमा रहेको खेलकुदलाई चिर्न र व्यवस्थित खेलकुद विकासका लागि समेत प्रशिक्षण प्रभावकारी हुने जनाए । उनले विद्यालयबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने भएकोले क्षमतावान खेलाडीहरुको पहिचान गरी उनीहरुलाई विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागिता गराउनु पर्ने उल्लेख गरे ।
शिक्षा तालिम केन्द्रका तालिम प्रमुख नेपाल हरि रानाभाटले विद्यार्थीहरुको अन्तर्निहित क्षमताको अध्ययन गर्दै उनीहरुलाई खेलकुदमा अघि बढाउन संगै उनीहरु भित्र रहेको क्षमताको अभिवृद्धि गर्न सके राष्ट्रले योग्य खेलाडी प्राप्त गर्न बताए । विद्यार्थीहरुलाई आधारभुत तह बाटै विभिन्न खेलकुदमा सहभागि गराउन प्रशिक्षण आयोजना गरिएको जनाउँदै विगत वर्षहरुबाट यस प्रकारका तालिम सुरू गरिएको जनाए ।
तालिम केन्द्रका शाखा अधिकृत एवं कार्यक्रम संयोजक दामोदर कार्कीका अनुसार १५ दिने तालिममा कास्कीका ८, स्याङजा, पर्वत, बागलुङ र म्याग्दीका ५/५ जना र मुस्ताङका २ जना गरी ३१ जना शिक्षकहरुको सहभागिता रहेको जनाए । उनले बाँकी जिल्लाहरुको लागि यस्तै प्रकारको दोस्रो चरणको कार्यक्रम नवलपुरमा गरिने जानकारी दिए । तालिमअन्तर्गत राष्ट्रपति खेलमा समावेश खेल भलिबल, एथलेटिक्स, खोखो, कबड्डीलगायतका खेलहरुको प्रशिक्षण दिइने छ ।
