
पोखरा स्पोर्टस । अद्यावधिक नभएका जिल्ला खेलकुद संघहरुको दर्ता खारेज गर्न प्रदेश खेलकुद परिषद गण्डकीले ११ वटै जिल्लाहरुलाई पत्र पठाएको छ ।
परिषदले आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्ला खेलकुद विकास समितिमा दर्ता भई अद्यावधिक नविकरण नभएका खेल संघहरुलाई दर्ता खारेज गरी एक साता भित्र विवरण पठाउन पत्रमार्फत भनेको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा २२ र प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम ६,७,८,९ र १० मा जिल्ला स्थित खेल संघहरुको गठन, संचालन, साधारण सभा र दर्ता नविकरण सम्वन्धि व्यवस्था भएको जनाउँदै परिषदले यहि पौष १५ गते भित्र नविकरण गर्न गराउन सबै जिल्ला खेलकुद विकास समितिहरुलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको थियो ।
परिषदका सदस्य सचिब श्रीधर शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–“जिल्ला भित्र दर्ता रहेका तर तोकिएको मितिमा साधारण सभा सम्पन्न गरी नविकरण नगराएका जिल्ला खेल संघहरुलाई नियमावलीको नियम १० बमोजिम ७ दिन भित्र त्यस्ता संघहरुको अनिवार्य दर्ता खारेज गरी विवरण जानकारी गराउन हुन अनुरोध छ ।”
साथै पत्रमा दर्ता नविकरण खारेज भएका खेल संघहरुको लेटर प्याड, छाप र पदिय हैसियत समेतको प्रयोग रोक्न र त्यस्ता खेल संघका पदाधिकारीहरुलाई पदिय हैसियत नर्गन/नगराउन समेत भनिएको छ । यसै गरी ति खेल संघका सम्पूर्ण गतिविधि र बैंक खाता समेत रोक्काको व्यवस्था मिलाउन पत्रमा निर्देशन गरिएको छ ।
त्यस्तै जिल्ला खेलकुद समितिमा दर्ता र अद्यावधिक नविकरण भएका खेल संघ र संस्थाहरुको नामावलि ७ दिन भित्र सार्वजनिक सूचना प्रकाशित गर्ने र ति नामावली भन्दा बाहेकका ति खेल संघ र संस्थाहरु अनाधिकृत रहेको जिल्लाका स्थानिय पालिकाहरु र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी दिन पत्रमा भनिएको छ ।
यसै बीच, अद्यावधिक नविकरण नभएका प्रदेश खेलकुद संघहरुलाई तीन दिन भित्र लिखित जवाफ पेश गर्ने गरी पत्रचार गर्न लागिएको सदस्य सचिव शर्माले जनाएका छन् । यहि पौष २० गते सम्म अद्यावधिक नविकरणका लागि सूचना प्रकाशित भएकोमा एक दर्जन भन्दा बढि प्रदेश खेलकुद संघहरु समेत नविकरणका लागि नआएको जनाउँदै भोली (मंगलबार) देखि लागु हुने गरी पत्रचार गर्न लागिएको सदस्य सचिब शर्माले जनाए ।
