गण्डकी तेक्वान्दोको साधारण सभा सम्पन्न, खेलकुद विकासका लागि ‘राजनिती’ अपरिहार्य–सदस्य सचिव शर्मा

पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटनको क्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुद विकासका लागि खेलकुद राजनिति अपरिहार्य हुने कुरामा जोड दिएका छन् ।

परिषदकै निर्देशन अनुसारनै संघले आफ्नो साधारण सभा सम्पन्न गरेकोमा धन्यबाद दिंदै सदस्य सचिब शर्माले सो कुरा बताएका हुन् । उनले भने–“खेलकुदमा जहिले पनि बजेट अभावका कारण समस्या छ । बजेट बढ्ने विषय कहिल्यै पनि प्राथमिकतामा परेन । अब संसद देखि पालिका सम्म बजेट बढाउने विषय राजनितिको मुलधार बनाउनु छ । तर त्यो पाटीगत राजनिती हुनु हुँदैन,” उनले थपे–“हामीले जिताएर पठाएका जुनसुकै तहमा निर्वाचित प्रतिनिधिहरु हुन खेलकुदमा बजेट बढाउन आवाज उठाउन उनीहरुलाई खेलकर्मीहरुले दवाव दिन आवश्यक छ । यसका लागि खेल राजनिती आवश्यक छ । हाम्रा आवाजले राष्ट्रिय रुप लिनुपर्छ ।”

नेपाली खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेकेको बताउँदै सदस्य सचिब शर्माले अहिले केही खेलकुद कार्यक्रमका बजेट ढोका बाट नआई झ्यालबाट आउन थालेको समेत बताए । उनले भने–“यो विडम्वना हो । सरकारले वार्षिक बजेटमा न्यून बजेट ल्याउँछ । तर केही खेलकुद कार्यक्रमहरुमा राज्यकै लाखौं लगानी रहेको छ । यसले खेलकुद विकासको गतिलाई पछि धकेलेको छ ।”

सदस्य सचिब शर्माले परिषदले निर्देशन अनुसार समयमा साधारण सभा तथा अधिवेशन, दर्ता, नविकरण र अद्यावधिक नर्गने सबै खेल संघहरुलाई खारेज गर्ने बताउँदै ति खेल संघहरुको लेटर प्याड, छाप समेत प्रयोग गर्न नदिने गरी कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए । “परिषदले सबै खेल संघहरुलाई समय दिएको छ । तर त्यो समय सिमा नाघेमा ति संघहरु कार्वाहीको दायरामा आउँनेछन्”, उनले भने–“हामीले खेलकुदमा सुशासन र पारदर्शिताका लागि अभियान कै रुपमा दर्ता, नविकरण र अद्यावधिकलाई अघि बढाएका हौंं ।”

खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यनाकर्षण भएको जनाउँदै सदस्य सचिब शर्माले नितिगत सुधारका लागि खेल संघहरुले मापदण्ड अनुसार अघि बढ्न जोड दिए ।

प्रदेश खेलकुद विकासका लागि परिषद सबै खेल संघहरु संग हातेमालो गर्दै सहकार्य गरी अघि बढ्ने बताउँदै खेल संघहरुलाई बलियो बनाउन आवश्यक संघका पदाधिकारीहरुलाई प्रशिक्षण दिने समेत सदस्य सचिव शर्माले जनाए । उनले खेलाडीहरुको हित र खेलकुद विकास संगै खेलकुद विकासका लागि सहकार्य गर्ने निजि संस्थाहरुलाई समेत प्रोत्सहान गर्ने गरी प्रदेश खेलकुद पदकद्वारा सम्मान गर्ने बताउँदै सो कार्यक्रम अन्तिम चरणमा पुगेको समेत बताए ।

सदस्य सचिब शर्माले अवको सम्पूर्ण तयारी १०औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गरे ।

सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले खेलाडीहरुको खेल्ने वातावरण र सहजिकररणका लागि खेल संघका पदाधिकारीहरुको ध्यान संगै एक जुट हुनुपर्ने औंल्याउँदै तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्ने कुरामा समेत जोड दिए । उनले भने–“स्वस्थ नागरिक उत्पादन संगै घर–घरमा तेक्वान्दो पुर्याउन डोजाङहरुको स्थापना आवश्यक छ ।”

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डेले आफ्ना भनाई राखेकी थिइन भने महासचिब रमेश पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष माइकल कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०/०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९२८ र खर्चतर्फ २५ लाख २३ हजार ८६४ रहेको जानकारी दिए ।

संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा राख्दै प्रदेशको तोक्वान्दो खेलको विकासका लागि सबैको सहकार्य हुनुपर्ने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close