एनओसीको बागडोर अब कस्को हातमा ? जिवनराम, निलेन्द्र की तेज गुरूङ

यस्तो छ निर्विरोध निर्वाचितहरुको नामावली

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी) को आसन्न निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगे संगै आगामी चार वर्षको कार्यकाल कस्को हातमा जाला भन्ने कौतुहलता सुरू भएको छ ।

नेपाल ओलम्पिक कमिटीको निर्वाचन यहि ११ गते हुँदैछ । सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भए पनि निर्वाचन समितिले अध्यक्ष पदमा निकालेको अन्तिम नामावलीमा तीन जनाको उम्मेदवारी कायम भएको छ ।

यस्तो छ निर्विरोध निर्वाचितहरुको नामावली
उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, गोपाल सुन्दरलाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद शर्मा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्य छन् ।

महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सहायक महासचिवमा रामजी बहादुर श्रेष्ठ निर्विरोध भए भने तीन सचिव पदमा रमेश प्रसाद शिवाकोटी, भीम सिंह गुरुङ र राम कृष्ण श्रेष्ठ निर्विरोध भएका छन् । त्यस्तै पाँच सदस्य पदमा गीता राना, लाक्पा छिरिङ लामा, राम अवाले, मनिष जोशी र जितेन्द्र बहादुर चन्द निर्विरोध भए ।

नेपाल ओलम्पिकको अध्यक्ष पदमा जिवनराम श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ र तेज बहादुर गुरुङले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका जिवनराम हाल कै अध्यक्ष हुन् उनले दुई कार्यकाल अध्यक्ष पदमा रहि सकेका छन् भने निलेन्द्र महासचिव हुन् । त्यसै गरी अध्यक्ष पदमा उम्मेदवारी दिएका गुरूङ उपाध्यक्ष पदमा थिए ।

आसन्न निर्वाचनमा जिवनराम र निलेन्द्र श्रेष्ठ बीच अध्यक्षमा दावेदारी घोषणा भए पनि गुरूङको उम्मेदवारीले भने सबैलाई चकित बनाएको छ । खेल क्षेत्रमा खारिएका व्यक्तित्वको रुपमा स्थापित गुरूङ काठमाण्डौ खाल्डो भन्दा बाहिरका समेत हुन् । झट्ट हेर्दा यो निर्वाचन राजधानी र मोफसल केन्द्रित देखिएको छ ।

एनओसीको विधान समेत संसोधन गरी कार्यकाल बढाएका जिवनरामले एनओसीको कुशल र सफल नेतृत्व देखिए पनि आफ्नो कार्यकाल बढाउन विधान समेत संसोधन गरे पछि पछिल्लो समयमा खेल क्षेत्रमा आलोचित देखिएका छन् । खेलकुदमा कुटिल चाल रच्न सिपालु उनले विधान संसोधन मा नै हम्मे हम्मे परेको थियो । तर पनि त्यो विरोधलाई साम्य पार्दै बहुमतले विधान संसोधन प्रस्ताव पारित गरे ।

यसै गरी ट्रायथलन खेलबाट आफूलाई स्थापित निलेन्द्र, जिवनराम कै प्यानलबाट विगतमा एनओसीमा आफ्नो वर्चश्व बनाउन सफल रहे पनि पछिल्लो समय भने जिवनरामकै विरुद्धमा खरो रुपमा उत्रिएका छन् । जिवनरामको विश्वास पात्रको रुपमा रहेका उनले पछिल्लो समय जिवनरामको विरोध मात्रै गरेका छैनन् उनी विरुद्ध अध्यक्ष पदमा उम्मेदवारी समेत दिएका छन् । 

‘सबैका लागि खेलकुद’ भन्ने महान उद्धेश्य बोकेको नेपाल ओलम्पिक अभियान राजधानी केन्द्रित हुँदा अन्य प्रदेश र जिल्ला ओलम्पिक अभियान बारे बेखवर जस्तै छन् । नेपाली खेलकुद नेपालको खेलकुद ऐन २०७७ अनुसार अघि बढे पनि ओलम्पिक अभियान भने ठप्प जस्तै छ । नेपाल ओलम्यिकले आफ्नो अभियान राजधानी केन्द्रित गरेको आरोप विगतमा झेल्दै समेत आएको छ । आसन्न निर्वाचनमा जिवनराम र निलेन्द्रलाई पछि पार्दै तेज गुरुङले जिते भने कुनै आश्चर्य भने हुने छैन ।

एनओसीको आगामी चार वर्षे कार्यकालका लागि सुरू भएको लोकतान्त्रिक अभ्यासमा कसले कति मत पाउँछ त्यो भने पौष १३ गते थाहा हुनेछ । एनओसीमा २७ मताधिकार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close