
पोखरा स्पोर्टस । आगामी माघ १२ गतेबाट सुरू हुने ‘टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ को तयारीमा जुटिरहेको टाइगर ग्रुप अफ पोखरा नेपालले आफ्नो तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको हो । पोखरा रंगशालामा आयोजित तेस्रो बार्षिक साधारण सभामा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले टाइगर ग्रुपले भलिबल खेलको विकासमा महत्वपूर्ण योगदान दिएको प्रति प्रशंसा गर्दै पोखरालाई खेलकुदको हव बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जनाएका छन् ।
सन २०२७ मा नेपालमा आयोजना हुने यू १९ विश्व कपको तयारीमा समेत प्रदेश सरकारले तयारी सुरू गरेको जनाउँदै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न जग्गाको खोजी गर्न उच्चस्तरीय कार्यदल बनाएको बताए । उनले भने–“अहिले खेलकुदको क्रेज बढ्दै गएको छ । यो क्रेजलाई प्रदेश सरकारले आत्मसाथ गर्दै क्रिकेटको जग्गा प्राप्ती गर्न कार्यदल बनाएका छौं ।”
मन्त्री थापाले खेलकुदको माध्यमबाट शारिरिक मानशिक रुपमा समेत तयार हुँदै ढिलो गरी प्रदेश सरकार गठन हुँदा बजेट विनियोजन गर्दा केही समस्या देखिएको उनले बताए । आगामी बजेटमा खेलकुद विकासका लागि गहन रुपमा विश्लेषण गरेर नै अघि बढ्ने तयारीमा प्रदेश सरकार रहेको उनले जनाए ।
गण्डकी प्रदेशका सांसद एवं संस्थाका महासचिव प्रकाश बरालले नेपाली खेलकुदमा टाइगर ग्रुपले खेलकुदको माध्यमबाट सबैलाई एक ठाउँमा जोड्दै सामाजिक क्रियाशिलता बढाएको बताए । उनले भने–“रोग, भोक र शोकमा परेकाहरुलाई सहयोग गर्न यो संस्था जन्मिएको हो । खेलकुद विकासका लागि मात्रै होइन ।” पोखराको खेलकुदमा नागरिकहरुको लगानी महत्वपूर्ण रहेको जनाउँदै उनले भने–”टाइगर कप विश्वमा छरिएर रहेका सहयोगी मनहरुबाटनै सफल रहेको जनाउँदै प्रदेश सरकारले समेत यसमा आफ्नो सहकार्य गरेकोले आभार व्यक्त गर्दछु ।”
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सांसद लिला बहादुर थापाले खेलकुदको विकासका लागि सबैको योगदानको चर्चा गर्दै आफू पनि पूर्व राष्ट्रिय खेलाडी भएको नाताले त्यो उत्साह अझै पनि रहेको बताए । उनले टाइगर ग्रुपले छोटो समयमा नै आफूलाई स्थापित गर्दै खेलकुद संगै सामाजिक अभियानमा अघि बढेको बताउँदै प्रशंसा समेत गरे । गण्डकीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएको थलो रहेको बताउँदै उनले भने–“गण्डकी प्रदेश खेलकुदको हव हो । नेतालाई भन्दा यहाँ खेलाडीलाई चिन्छन । उनीहरुको सम्वन्ध राम्रो छ । खेलकुदमा जस्तै मुलुकलाई गति दिने हो भने राजनितीमा समेत खेलको जस्तै नियम आवश्यक छ । मुलुकलाई पनि ठिक ठाउँमा ल्याउन त्यस्तै रेफ्रिहरु हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व सांसद राजिव पाहारीले राज्यका अङ्गहरुले आयोजना गर्ने प्रतियोगिता भन्दा अन्य संघ सस्थाहरुले प्रतियोगिता प्रभावकारी रहेको जनाउँदै त्यसबाट समेत खेलकुद क्षेत्रमा सकरात्मक प्रभाव परेको बताए । उनले त्यस प्रकारका संस्थहरुलाई अघि बढेर प्रदेश सरकारले साथ दिनुपर्ने जनाउँदै घोषणा अनुरुप भएको पर्यटन राजधानीको विकासका लागि खेलकुद, स्वास्थ्य र शिक्षाको हव बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा कोशी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव हंशराज वाग्लेले गण्डकी प्रदेशमा खेल प्रतिको यहाँको लगाव सबै नेपालीका लागि उदाहरणिय रहेको बताए ।
सो अवसरमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरूङले टाइगर कपलाई परिषदको तर्फबाट १० लाख विनियोजन गर्दै सहकार्यको यात्रालाई अघि बढाएको बताए । कार्यक्रममा नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरूङले समेत आफ्ना भनाई राखेका थिए ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले टाइगर ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो सहकार्यको यात्रा जारी रहेको बताउँदै पाँचौ सस्करणको टाइगर कपको तयारी समेत जुटेको बताए । उनले आगामी माघ १२ गते देखि सुरू हुने पाँचौ सस्करणको ‘टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८१’ लाई सफल बनाउन आग्रह गर्दै प्रतियोगिताले यूवा खेलाडी उत्पादनमा समेत भूमिका खेल्ने बताए ।
तेस्रो वार्षिक साधारण सभामा संस्थाका सचिव डिबी नेपालीले आगामी वर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गर्दै आफ्ना अभियानहरुले अझै प्रभावकारी रुपमा अघि बढाउने जनाएका थिए भने कोषाध्यक्ष हरि कुमार श्रेष्ठले आर्थिक वर्षमा १८ लाख ३७ हजार बचत गर्न सफल रहेको जनाए ।
