पोखरा/आइटिएफ वर्ल्ड टेनिस टुर : सलोनी र लोरान्टलाई उपाधि

पोखरा स्पोर्टस । पोखरा रंगशाला टेनिस कम्लेक्समा सम्पन्न आइटिएफ टेनिस यू १८ टेनिस टुर जे–५ सर्किट–२ अन्तर्गत गर्ल्स सिंगल्सको उपाधि नेपालकी सलोनी तामाङ तथा ब्वाइजतर्फको उपाधि हङ्गेरीका लोरान्ट ग्योरीले जितेका छन् ।


दुई साता लामो प्रतियोगिता अन्तर्गत सर्किट–१ समेतकी उपाधि विजेता सलोनीले फाइनलमा नेपालकी सर्भानी श्रेष्ठलाई २–१ को सेटमा जित हासिल गरेकी हुन् । पहिलो सेट ६–४ ले जितेकी सलोनीले दोश्रो सेट भने ४–६ ले सर्भानीलाई सुम्पिन पुगिन । तर तेश्रो तथा अन्तिम तथा निर्णायक सेटमा कमब्याक गर्दै सलोनीले सर्भानीलाई ६–१ रोक्दै उपाधि जितिन भने सर्भानीले उपाविजेतामा चित्त बुझाइन ।

त्यस्तै ब्वाइज सिंगल्सतर्फको उपाधि भिडन्तमा हङ्गेरीका लोरान्टले स्विडेनका इमिलियो जियोलोस्कीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् । लोरान्टले ६–३, ७–५ ले खेल जित्दै इमिलियोलाई उपविजेतामा सिमित पारे ।

ब्वाइज डवल्सतर्फको खेल भने भारतिय दक्ष प्रसाद र कविर छावरियाको जोडीले जितेको छ । उक्त जोडीले अमेरिकाको मिथर व्यारोट र शिदार्थ लामाको जोडीलाई ७–६(५), १–६, १२–१० ले सुपर टाई म्याचमा पराजित गरेको हो । त्यस्तै गर्ल्स डवल्सको उपाधि भारतिय जोडी नियाती कुक्रेती र हाना नागरपालको जितेको छ ।

टेनिसका अग्रजलाई सम्मान
समापन कार्यक्रममा कास्की जिल्ला टेनिस संघले नेपालको टेनिस खेल विकासमा उल्लेख्य योगदान पुर्‍याएका ९४ वर्षिय हेम बहादुर लामालाई सम्मान गरेको छ । सम्मानित व्यक्तित्व हेम लामा नेपालमा क्ले कोर्टको विकास संगै आफै पनि राष्ट्रिय खेलाडीको रुपमा उदाएका थिए । उनले आफ्नै लगानीमा काठमाडौमा ५ वटा क्ले कोर्ट निर्माण गरेका थिए । उनका छोराहरु राज लामा, सुजय लामा, क्या. विजय लामा कुनै समय राष्ट्रिय टेनिस खेलाडीका रुपमा स्थापित थिए । टेनिस बाहेक उनी संगित लेखन संगै फाइन आटर्समा समेत उत्तिकै दख्खल राख्छन् भने आदर्श नारी चलचित्रका निर्माता समेत हुन् । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणले खादा तथा सम्मानपत्र द्वारा सम्मान गरेका थिए ।

आइटिएफ टेनिस यू १८ टेनिस टुर जे–५ सर्किट–२ का विजेता खेलाडीहरु प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा, उपाध्यक्ष विनोद कायस्थ, शसस्त्र प्रहरीबल कालिका गणका प्रमुख एसपी जनक बस्नेत, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बाँनिया, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, कास्की जिल्ला टेनिसका अध्यक्ष लोक बहादुर गुरुङ, निवर्तमान अध्यक्ष दोर्जे लामा, सचिव नविन श्रेष्ठ लगायतले मेडल प्रमाण वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close