
पोखरा स्पोर्टस । स्नातक तहमा नेपालको एक मात्र स्पोर्टस म्यानेजमेन्ट विषयमा अध्ययन/अध्यापन गर्दै आएको गण्डकी विश्वविद्यालयद्वारा आयोजित ‘कुलपति रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८१’ को दोस्रो दिन १० खेल सम्पन्न भएका छन् । जारी प्रतियोगिताको दोस्रो दिन १० खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको दोस्रो दिन पहिलो संस्करणको उपाधि बिजेता कालिका मावि, छोरेपाटन मावि, पोखरा आदर्श, ग्लोबल कलेजियट, स्टेप वाई स्टेप, ज्ञान सागर र जेसिए बिजयी भएको आयोजक विश्शवविद्यालयका प्रा.सोनाम लामाले जानकारी दिएका छन् ।
आइतबार भएको पहिलो खेलमा स्टेपवाई स्टेपले बालोदय विरुद्ध ३–१ गोलले बिजयी भएको छ । जसमा स्टेप वाई स्टेप कुन्जन पौडेलले १, निशान मगरले २ गोल गरे भने बालोदयका लागि अंकित विकले एक गोल फर्काए ।
त्यस्तै ज्ञान सागरले प्रतिभा माविलाई ३–२ गोलले पराजित गरेको छ । ज्ञान सागरका लागि मनोज गुरुङ, बादल गुरुङ र कुशल विकले समान १–१ गोल गर्दा प्रतिभाका लागि दिपेन्द्र रोक्का र रोहन खड्काले १–१ गोल गरे ।
पोखरा आदर्श मावि विद्यानिकेतन विरुद्ध ३–१ गोल अन्तरले बिजयी भयो । पोखरा आदर्शका लागि रोहित तामाङ्ग, योगराज ढुङ्गाना र अनिश गौतमले समान १–१ गोल गरे भने विद्यानिकेतनका सोमराज राउतले एक गोल आदर्श विरुद्ध गरे ।
यस्तै छोरेपाटन मावि र सवलाइमको बीचको खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो । छोरेपाटन सवलाइम विरुद्ध ४–३ ले जित हासिल गर्यो । म्यान अफ दि म्याच युवराज नेपालीले २ गोल गरे भने भिम बहादुर गोर्जाले खेल सुरू भएको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिएका थिए । चौथो गोल समिर सुवेदीले गरे । यता सबलाइमका लागि हिमाल गोलेलले २ गोल गरे भने सम्राट परियारले १ गोल गरे ।
कालिका माविले विद्यनलयस्तर फुटबलमा आफ्नो लयलाई कायम राख्दै जारी प्रतियोगिताको पहिलो खेलमा जित दर्ता गरेको छ । राष्ट्रिय मावि विरुद्धको खेलमा कालिका ३–१ ले बिजयी भयो । जसमा बिजय मगर खेलको म्यान अफ दि म्याचले पहिलो गोल १४ औं मिनेटमा गरे भने समिर गुरुङ र दिप्सन गुरुङले १–१ गोल थपे । राष्ट्रिय माविका विपिन मगरले टिमका लागि सान्त्वना १ गोल फर्काए ।
आज नै भएको अन्तिम खेलमा जेसिएले केफ माविलाई २–१ गोलले पाखा लगाएको छ । केफका लागि पल्सेस ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि जेसिएका लागि ताजिन बुढाथोकी र प्रवेश रिजालले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए ।
यसै बीच गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरेका थिए । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा.डा नवराज देवकोटा, रजिस्टार डा. कैलाश तिमिल्सिना, विभिन्न संकायका प्रमुख एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता यहि पौष ३ गते सम्म सञ्चालन हुने विश्वविद्यालय खेलकुद म्यानेजमेन्टका कोर्डीनेटर डा. मधुसुदन सुवेदीले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा २३ विद्यालयको सहभागिता रहेको छ ।
