
पोखरा स्पोर्टस । २४ औं सस्करणको आहा ! रारा पोखरा गोल्डकपमा सहभागिताका लागि पोखरा महानगर पालिकामा छलफल गरिएको छ ।
पोखरा महानगर पालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीको पहलमा सहारा क्लब पोखराका पदाधिकारीहरु सहितको टोलीले पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य संग छलफल गरेको हो ।
सो छलफल बारे जानकारी दिंदै अध्यक्ष मर्सानीले आसन्न आहा रारा पोखरा गोल्डकपमा विश्वभरका भगिनी सम्वन्ध रहेका शहरहरुको सहभागिताका लागि पोखरा महानगर पालिकामार्फत आग्रह गर्न मेयर आचार्य संग छलफल गरिएको बताए । छलफल पछि कुरा गर्दै अध्यक्ष मर्सानीले भने–“आज हामीले सहारा क्लबको टोलीसहित मेयरज्यू संग छलफल गरेका छौं । आहा रारा गोल्ड कपमा सहभागिताका लागि मेयरज्यूले सबै शहरहरुलाई निमन्त्रणा पठाउन प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।”
पोखरा महानगरको विश्वका करिव ४० भन्दा बढि देशका शहरहरु संग भगिनी सम्वन्ध रहेको जनाउँदै अध्यक्ष मर्सानीले भने–“भगिनी सम्वन्धलाई प्रभावकारी बनाउन खेलकुदको अहम भूमिका हुन्छ । हामी भगिनी सम्वन्धको विकासलाई खेलकुद संग जोड्दै सम्वन्धको विकासलाई बलियो बनाउन चाहन्छौंं । त्यसका लागि आहा रारा गोल्डकप एक हाम्रो सोच अनुरुप महत्वपूर्ण हुन सक्छ भन्नेमा म विश्वस्त छु ।”
आहा रारा पोखरा गोल्डकप नेपाली फुटबलमा ऐतिहासिक प्रतियोगिता रहेको जनाउँदै अध्यक्ष मर्सानीले भगिनी सम्वन्ध भएका केही शहरहरुको सहभागिता हुने सके त्यसले ति शहरहरु बीचको सम्वन्ध बलियो हुने जनाउँदै सबै शहररुलाई महानगर मार्फत पत्रचार गरिने जनाए ।
छलफलमा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पूर्व अध्यक्षहरु विक्रम थकाली, विरभद्र आचार्य र केशव बहादुर थापा, बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, सहकोषाध्यक्ष अशोक लालचन, मिडिया प्रमुख सुदर्शन रञ्जित लगायतको सहभागिता रहेको थियो ।
सहारा क्लबको आयोजनामा यहि माघ २२ गते देखि फागुन ३ गते सम्म पोखरा रंगशालामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।
