
पोखरा स्पोर्टस । मित्र राष्ट्र भारतको मिजोरममा सम्पन्न एक अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा नेपाली खेलाडी अमन थापाले सफलता प्राप्त गरेका छन् ।
‘इन्टरनेशनल प्याराग्लाइडिङ एक्युरेसी च्याम्पियनसिप एण्ड इयर स्पोर्टस फेस्टिभल एफएआई २’ को प्रतिस्पर्धामा अमन बिजेता बनेको प्रतियोगिताका इभेन्ट जज बिमल अधिकारीले जनाएका छन् ।
पोखरा स्पोर्टसलाई प्रतियोगिता बारे जानकारी दिंदै नेपाली प्याराग्लाइडिङ टिमका मुख्य प्रशिक्षक समेत रहेका अधिकारीले सम्पन्न प्रतियोगितामा अमन बिजेता बन्दै २ हजार युरो हात पारे । त्यसै गरी प्रतियोगितामा इन्डोनेशियाका युदा माइसापुत्र दोस्रो हुँदा भारतका अक्षय कुमार तेस्रो बनेका छन् ।
उक्त प्रतियोगितामा नेपाली खेलाडी अमन सहित तोरण गुरुङ र अन्जन थापाले सहभागिता जनाएका थिए । उनीहरु सबै पोखराका हुन् ।
प्रतियोगितामा आयोजक भारतसहित २० भन्दा बढि देशका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
नेपालमा सोलो प्याराइलाइडिङ सञ्चालन नहुँदा नेपाली खेलाडीहरु आफूले सिकेको शिपका भरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुँदै प्रतियोगिता समेत जित्दै आएका छन् । तर यो बारे नेपाली खेलकुद क्षेत्र भने मौन जस्तै छ । सोलो प्याराग्लाइडिङ बन्द हुँदा खेल क्षेत्र प्रभावित बनेको छ भने अर्को तर्फ करौडौंको राजश्व समेत राज्यले गुमाउन परेको छ ।
