गोरखा मनकामना कालिका म्याराथनमा करणलाई उपाधि, आर्मीको बर्चश्व

पोखरा स्पोर्टस । गोरखा मनकामना–कालिका म्याराथन दौडमा नेपाल आर्मीका करण रावतले जितेका छन् । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा शनिबार सम्पन्न ४२.१९५ किमि म्याराथन दौडमा करणले २ घन्टा ३६ मिनेट ०७ सेकेण्डको समय लिदैं उपाधि जितेका हुन् । गोरखा जिल्लाका दुई ऐतिहासिक धार्मिक केन्द्रलाई जोड्दै पहिलो पटक आयोजना भएको म्याराथनमा बर्चश्व भने नेपाल आर्मीकै धावकहरुको रह्यो । आर्मीका खेलाडीहरुले दशौं स्थानमा सम्म नै पुरस्कार जिते ।

कुल १ सय ६ जना खेलाडीहरुको सहभागिता रहेको म्याराथनमा २ घन्टा ४४ मिनेट ४४ सेकेण्डको समयमा होमलाल श्रेष्ठ दोस्रो स्थानमा रहे भने २ घन्टा ४४ मिनेट ०६ सेकेण्डमा दौड पुरा गर्दै राजेन्द्रराई तेस्रो बने ।

त्यस्तै २ घन्टा ४५ मिनेट ४२ सेकेण्डको समयमा दुरी पार गरेका गोविन्द कार्र्की चौथो, २ घन्टा ४७ मिनेट ५८ सेकेण्डको समय लिएका गोपाल तामाङ पाँचौ, स्थान प्राप्त गर्दा सुभाष कार्कीले २ घन्टा ४८.३२ सेकेण्डमा दुरी पार गर्दै छैटौं, २ घन्टा ४९ मिनेट १६ सेकेण्डमा दुरी पार गरेका तिलक सुनुवार सातौं स्थानमा रहे । त्यसै गरी राज म्योयुङगा, कूल बहादुर बस्नेत र प्रताप थामसुहाङ क्रमश आठौं, नवौं र दशौं स्थानमा रहेका छन् ।

प्रतियोगितामा बिजेता बनेका करणले नगद १ लाख ५० हजार प्राप्त गर्दा उपविजेता होमलालले नगद रु १ लाख, राजेन्द्रले ७५ हजार, गोविन्दले ६० हजार, गोपालले ५० हजार, शुभाषले ४० हजार, तिलकले ३५ हजार, राजले २० हजार र अन्य खेलाडीले जनही नगद रु १५–१५ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

त्यस्तै गोरखा जिल्लाका अभिषेक देवकोटाले पहिलो पटक आयोजना भएको म्याराथन दौड पुरा गरे । उनले सम्मान स्वरुप नगद रु १२ हजार प्राप्त गर्दा, प्रतियोगितामा सबै भन्दा कम उमेरमा दौड पुरा गरेका  १४ वर्षिय ब्यञ्जन बस्नेतलाई समेत नगद रु १२ हजार प्रदान गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका कार्यालय अधिकृत तोपलाल भुसालले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई विभिन्न गाउँ पालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारीसहित शुरक्षा निकायका प्रमुखहरु, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, परिषदका सदस्यहरु, महाशाखा प्रमुख राम प्रसाद आचार्य, लेखा प्रमुख निलकण्ठ ढकाललगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि गोरखा मनकामना मन्दिरबाट सुरू भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले गण्डकी प्रदेशका हरेक जिल्लाहरुलाई खेलकुद केन्द्रको रुपमा विकास गर्न यस प्रकारका प्रतियोगिताहरु समावेश गरिएको बताउँदै खेलकुदको माध्यमबाट ऐतिहासिक एवं पौराणिक स्थलहरुको जर्गेना गर्न एवं आम नागरिकहरुलाई खेलकुद प्रतिको आकषर्ण बढाउन समेत परिषदले योजनाहरु अघि बढाएको बताए ।

समापन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण बहादुर बस्नेत (शान्ता)को अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतियोगितामा बिजेता तथा उपविजेता खेलाडी द्वय करण र होमलालले पोखरामा आयोजना हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समेत सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् । प्रतियोगितामा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च सह आयोजकको रुपमा रहँदै प्राविधिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close