
पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलको समिकरण पूरा भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भइरहेको खेलमा सेमिफाइनल समिकरण पुरा भएको आयोजकले जनाएको हो ।
पहिलो क्वार्टरफाइनल खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)लाई ६५–५३ ले पराजित गर्दै सेमिफाइनल स्थान पक्का गर्दा दोस्रो खेलमा पर्वतको जलजला गाउँपालिकाले मोदी गाउँपालिकालाई ६४–५८ ले पराजित गरेको छ ।
तेस्रो खेलमा पोखरा महानगरपालिकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६७–५७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । क्वाटरफाइनलको अन्तिम खेलमा बेनी नगरपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ६७–५१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ पहिलो सेमिफाइनलमा पोखरा महानगरपालिका र बेनी नगरपालिकाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा रघुगंगा गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै भोलिदेखि महिलातर्फको समेत खेल हुने छ ।
महिलातर्फको पहिलो खेल ललितपुर र ग्राण्डबीच हुनेछ । यस्तै दोस्रो खेल अन्नपूर्ण र मर्दीखोलाबीच हुनेछ ।
गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागत पुरुष–महिलातर्फ बेस्ट डिफेन्सीफ प्लेयर, बेस्ट अफेन्सीफ प्लेयर र एमभिपीलाई समान नगद रु एक हजार पाँच सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।
