अन्नपूर्ण अध्यक्ष कप बास्केटबलमा क्वार्टरफाइनल समिकरण पूरा

पोखरा स्पोर्टस । पोखरा रंगशालामा जारी प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका खेलहरु सकिएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा भएको खेलमा आज लिगचरणको खेल सकिएसँगै क्वार्टरफाइनलको समिकरण पुरा भएको हो ।

आज भएको पहिलो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)ले लमजुङको बेशीशहर नगरपालिकालाई ४१–२८ ले पराजित गदैं क्वार्टरफाइनलमा स्थान पक्का गर्दा दोस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले म्याग्दीको रघुगंगा गाउँपालिका (ह्वाइट)लाई ५८–४६ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।

यस्तै तेस्रो खेलमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)ले पोखरा महानगरपालिकालाई ५८–५४ ले पराजित गर्यो भने चौथो खेलमा खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे)ले लमजुङको बेशींशहर नगरपालिकालाई ६०–३० ले पराजित गरेको छ ।

पाँचौ खेलमा पर्वतको जलजला गाउँपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५४–४६ ले र म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)लाई ४४–३६ ले पराजित गरेको आयोजकले जनाएको छ ।

भोलि (बिहीबार) पहिलो क्वार्टरफाइनलमा म्याग्दीको रघुगंगा गाउँपालिका (ग्रे) र म्याग्दीको अन्नपूर्ण गाउँपालिका (ह्वाइट)बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेल पर्वतको मोदी गाउँपालिका र जलजला गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै तेस्रो खेल बेनी नगरपालिका र रघुगंगा गाउँपालिका (ह्वाइट)बीच हुनेछ । यस्तै चौथो क्वाटरफाइनल खेल पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका (ओरेन्ज)बीच हुनेछ ।

लिग कम नकआउटको आधारमा भइरहेको गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् ।

विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीफ प्लेयर, बेस्ट अफेन्सीफ प्लेयर र एमभिपीलाई समान नगद रु एक हजार पाँच सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीफ प्लेयर र एमभिपीलाई समान नगद रु एक हजार ५ सय पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close