
पोखरा स्पोर्टस । १८ औं प्याबसन कास्की स्पोर्टस मिट २०८१ मा हिमालयन बोर्डिङ स्कुल र सरस्वती आदर्श विद्याश्रम च्याम्पियन भएका छन् ।
दुई विद्यालय समग्रमा बराबर अङ्क प्राप्त गर्दै च्याम्पियन बने पछि ‘प्याब्सन रनिङ शिल्ड ट्रफी’ दुबै विद्यालयले बाँडेका छन् । एक साता लामो चलेको प्याब्सन स्पोर्टस मिटमा दुबै विद्यालयले समग्रमा समान १२–१२ अङ्क हात पारे ।
प्याब्सन स्पोर्टस मिटमा पहिलो पटक थपिएको ह्याण्डबल खेलका कारण रनिङ ट्रफी हासिल गर्ने सवालमा समेत उलटफेर भएको हो । १८औं प्याब्सन स्पोर्टस मिटमा थपिएको जुनियर छात्रा ह्याण्डबलतर्फ हिमालयन बोर्डिङ स्कुलले उपाधी जित्दै ७ अङ्क र छात्रतर्फ उपविजेता बन्दै ५ अङ्क प्राप्त गरी कुल १२ अङ्क प्राप्त गर्दा यता सरस्वती आदर्श विद्याश्रम ह्याण्डबल छात्रतर्फ पहिलो हुँदै ७ र छात्रा उपविजेता हुँदै ५ गरी कुल १२ अङ्क हात पारेको थियो ।
१८ औं प्याब्सन स्पोर्टस मिटमा अङ्क बराबर भएर ट्रफी बाँडिए पछि दुबै विद्यालयले एक–एक वर्ष ट्रफी आफू संग राख्ने पाउने छन् ।
यस्तै आज नै सम्पन्न छात्र फुटबल मावितर्फ बालकल्याण माविले उपाधि जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा बालकल्याणले शान्तीदिप मावीलाई ३–१ गोल अन्तरले जराजित गर्दै उपाधि जितेको हो । त्यस्तै डयमाण्ड मावि तेस्रो भएको छ । डायमण्डले शान्ती निकुञ्जलाई २–१ ले हराएको थियो ।
प्याब्सन स्पोर्टस मिटमा बिजेता विद्यालय तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रनिङ ट्रफी दुबै च्याम्पियन विद्यालयहरुलाई हस्तान्तरण गरेका थिए । समापनमा प्रदेश प्रमुख भट्टसहित नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं प्रदेश खेलुकद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, वीरबहादुर बुढाथोकी, केन्द्रीय सल्लाहकार गणेशमान सिंह भण्डारी, माधवशरण उपाध्याय, प्याब्सनका केन्द्रीय सदस्य एवं प्याब्सन कास्कीका प्रमुख सल्लाहकार प्रेमप्रसाद शर्मा, प्याब्सन अध्यक्ष मथुराप्रसाद पौडेल, स्पोर्टस् मिट संयोजक उमा लामिछाने, एथलेटिक्स संयोजक विधान गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि समापन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख भट्टले देशप्रति गर्व गर्ने योग्य नागरिक उत्पादन गर्न निजी विद्यालयको भूमिका हुने उल्लेख गर्दै ‘विद्यार्थीको आचरण निर्माण, अनुशासन र चरित्र निर्माण जस्ता कुरामा पनि निजी विद्यालयहरुले उत्तिकै ध्यान दिन आवश्यक रहेको औंल्याए । उनले भने–‘शिक्षा क्षेत्रमा राज्यको एक चौथाई भार वहन गरेको निजी क्षेत्रले आफूप्रति सामाजिक विश्वास र आकर्षण बढाउन सकोस् भन्ने म शुभकामना व्यक्त गर्दछु।’
समयानुकूल परिमार्जित शिक्षा उपलब्ध गराउनको लागि शिक्षकहरूलाई तहगत तालिम, शिक्षक तथा कर्मचारीलाई राज्यले तोकेबमोजिम श्रमको मूल्य प्रदान गर्नतिर पनि निजी क्षेत्रको ध्यान जानुपर्नेमा प्रदेश प्रमुख भट्टले जोड दिंदै सयौं विद्यार्थीहरूलाई खेलकुदमा जोडेर उनीहरुबीच स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर यस्ता कार्यक्रमबाट मिल्ने भन्दै उनले निजी विद्यालयहरु राज्यका महत्वपूर्ण सहयोगी अंगका रुपमा रहेको उल्लेख गरे ।
‘निजी क्षेत्रलाई सेवामुखी बनाउन राज्यका तर्फबाट नीतिगत विभेदको अन्त्य गरी सहुलियतहरु प्रदान गर्ने र लगानीमैत्री वातावरण सिजर्ना गर्न सरकारको ध्यान गएको छ ।’ प्रदेश प्रमुख भट्टले भने– ‘निजी विद्यालयहरुको संगठन र सरकारी संयन्त्रबीचको पारस्परिक विश्वास र सहकार्यमा जोड दिँदै अघि बढ्दा शिक्षा क्षेत्रको हित नै हुनेछ ।’ नेपालको शिक्षाको विकासमा सार्वजनिक–निजी साझेदारी अवधारणाको शक्तिलाई विकसित गर्नुपर्नेमा सरकारले जोड दिएको उनको भनाई छ ।
प्रदेश प्रमुख भट्टले अबको युग प्राविधिक दक्षता युक्त मानिसहरुको युुग भएकाले प्राविधिक ज्ञानसहितको शिक्षाको अव विकल्प रहने बताउँदै शिक्षालाई प्रविधिसँग जोड्दै विद्यार्थीहरुलाई समय सुहाउँदो दक्ष नागरिक उत्पादनमा निजी विद्यालयहरु सफल हुने विश्वास पनि व्यक्त गरे । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई खेलकुदमा समेत उत्तिकै संलग्न गराउन जोड दिँदै भट्टले खेल क्षेत्रबाटै व्यक्ति र राष्ट्रले विश्वमाझ आफूलाई चिनाउने बताए ।
प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक उमा लामिछाने, सचिब पुष्पराज पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।
१८ औं प्याब्सन स्पोर्टस मिटमा ८८ विद्यालयका ८ हजार बढि विद्यार्थीहरुले कुल ९०६ बटा पदकका लागि विभिन्न खेलमा प्रतिस्पर्धा गरेको थिए । स्पोर्टस् मिटमा अघिल्लो वर्ष टप्स च्याम्पियन भएको थियो ।


