पोखरा आइटिएफ जे३० : सिंगल्सतर्फ सेमीफाइनल खेल र डबल्सतर्फ फाइनल खेल सम्पन्न

नेपालकी सुनिरा फाइनलमा, भारतकी महिका संग भिड्ने

पोखरा स्पोर्टस । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी सर्किट १ आइटिएफ जे३० वर्ल्ड टेनिस टुरतर्फ बिहिबार सिंगल्सतर्फका सेमीफाइनल खेलहरु निकै रोमाञ्चपूर्ण रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा प्रतियोगिताको पाचौ दिन विश्वभरका खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धा उत्रिए भने नेपाली खेलाडीहरूले समेत् उत्कृष्ट छाप छोडे ।

यसै क्रममा नेपाली खेलाडी सुनिरा थापा गर्ल्स सिंगल्सतर्फ शानदार प्रदर्शनका साथ फाइनलमा प्रवेश गरिन् । उनले भारतकी शगुन कुमारीलाई ६–३, ३–६, ७–५ ले पराजित गर्दै फाइनलमा जारी प्रतियोगितामा सहभागि शीर्ष वरीयताकी भारतिय खेलाडी महिका खन्ना संग भेट पक्का गरिन् । सुनिरा संग फाइनलमा भेट पक्का गरेकी महिकाले मंगोलियाकी मार्ता छोगसोमजव विरुद्ध कडा चुनौतीलाई पार गर्दै कठिन जित दर्ता गरिन् । उनले मार्तालाई ७–६(३), १–६, ६–४ ले पराजित गरिन् ।

यस्तै ब्वाइज सिंगल्समा नेपाली खेलाडी आरभ सम्राट हाडा सेमीफाइनलबाट बाहिरिएका छन् । उनी भारतिय खेलाडी आश्रव्य मेहरा संग सोझो ६–१, ६–२ ले स्तव्ध बने । यस्तै हैनुओ गुओ (चीन) ले रोमाञ्चक तीन सेटको खेलमा प्रतीक नविन (अष्ट्रेलिया) लाई ७–६(८), ५–७, ६–३ ले पराजित गर्दै जित दर्ता गरे ।

ब्वाइज/गर्ल्स डबल्स फाइनल सम्पन्न
प्रतियोगिताको पाँचौ दिन ब्वाइज/गर्ल्सतर्फका फाइनल खेलहरु सम्पन्न भएका छन् । ब्वाइज डबल्सतर्फ भारतीय जोडी ओजस मेहलावत र अधिराज ठाकुरले आफ्नै देशका प्रतिस्पर्धी आदित्य मोर र प्रकाश सरणलाई ६–२, ६–१ को सजिलो जित दर्ता गर्दै उपाधि आफ्नो नाम गरे ।

यस्तै गर्ल्सतर्फको फाइनल खेल भने निकै रोमाञ्चपूर्ण रह्यो । भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकीवालाले आफ्नै देशका प्रतिस्पर्धी महिका खन्ना र एन्जेल पटेललाई रोमाञ्चक खेलमा ६–३, २–६, (१०–५) ले पराजित गर्दै उपाधि जिते ।

प्रतियोगिता अन्तर्गत भोली (शनिबार) बाट गर्ल्स/ब्वाइजतर्फका फाइनल खेलहरु सम्पन्न हुनेछन् भने भोलीबाटै सर्किट–२ अन्तर्गतका क्वालिफाइङ राउण्डका खेलहरु समेत सुरु हुने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् ।

ब्वाइजतर्फ क्वालिफाइङ राउण्डतर्फ विभिन्न देशका २७ र गर्ल्सतर्फ ८ जना छन् । मेन ड्रमा भने दुबैतर्फ २८–२८ जना छन् । दुई दिन सम्म चल्ने क्वालिफाइङ खेलबाट ४–४ जना मेन ड्रका लागि छनौट हुने छन् । मेन ड्रका लागि भने नेपाली ४ जना खेलाडीहरुले वाइल्डकार्डबाट सोझै प्रवेश पाइसकेका छन् ।

प्रतियोगिता मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close