पोखरा आइटिएफ जे३० जुनियर टेनिस : नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा अन्य खेलमा आश्चर्यजनक उलटफेर

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटिएफ जे३० जुनियर टेनिस वर्ल्ड टेनिस टुुर प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् ।

पोखरा टेनिस सेन्टरमा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीहरुले बिजयी यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडीहरू आश्चर्यजनक रूपमा पराजित भएका छन् ।

ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयता प्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारतिय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे । खेलमा उनको उत्कृष्ट सर्भ र रणनीतिक खेलले आफूलाई अन्तिम चारमा उभ्याए ।

यता जारी प्रतियोगितामा जुनियर विश्व शिर्ष वरियताका जापानका रिकु हिगाशीको सेमीफाइनल यात्रा भने समाप्त भएको छ । उनी अष्ट्रेलियाका प्रतिक नविन संग ६–३, ६–३ को सोझो सेटमा पराजित हुँदै स्तव्ध बने ।

त्यसै गरी ब्वाइज सिंगल्सतर्फ आठौं वरीयता प्राप्त हैनुओ गुओ (चीन) ले शौर्य सामाला (भारत) लाई ७–५, ६–२ ले तथा सातौं वरीयता प्राप्त आश्रव्य मेहरा (भारत) ले चौथो वरीयता प्राप्त ओजस मेहलावत (भारत) लाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।

त्यस्तै सिंगल्स गर्ल्सतर्फ छैठौं वरीयता प्राप्त सुनिरा थापा (नेपाल)ले तेस्रो वरीयता प्राप्त अरजान खोराकीवाला (भारत) लाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेकी छन् भने शीर्ष वरीयता प्राप्त महिका खन्ना (भारत) ले रीत अरोरा (भारत) लाई टाइब्रेकरमा ७–६(५), ६–७(७), ६–४ ले पराजित गरिन् ।

त्यस्तै अन्य एक खेलमा चौथो वरीयता प्राप्त मार्ता चोग्सोमजव (मङ्गोलिया) ले पाँचौं वरीयता प्राप्त दिशा बेहेरा (भारत) लाई ६–४, ६–० ले पराजित गर्दै सेमीफाइनलमा पुगेकी छन् भने शगुन कुमारी (भारत) ले दोस्रो वरीयता प्राप्त सयेटे वराडकर (भारत) लाई ६–०, ६–४ ले पराजित गरिन् ।

यसै गरी ब्वाइज डबल्सतर्फ सम्पन्न सेमीफाइनलमा शीर्ष वरीयता प्राप्त ओजस मेहलावत र अधिराज ठाकुर (भारत) ले तेस्रो वरीयता प्राप्त प्रबीर मुकेश चावडा (भारत) र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७(३), १३–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे भने दोस्रो वरीयता प्राप्त आदित्य मोर र प्रकाश सरन (भारत) ले चौथो वरीयता प्राप्त आरव चावला र आश्रव्य मेहरा (भारत) लाई ७–५, ६–३ ले पराजित गरेका छन् ।

त्यसै गरी गर्ल्स सेमीफाइनलमा शीर्ष वरीयता प्राप्त महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका बिष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३ ले पराजित गरे भने तेस्रो वरीयता प्राप्त दिशा बेहेरा र अरजान खोराकीवाला (भारत) ले दोस्रो वरीयता प्राप्त मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६(४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सिंगल्सतर्फ सेमीफाइनल र डबल्सतर्फका फाइनल खेल सञ्चालन हुने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close