
पोखरा स्पोर्टस । संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन नकट्ने ठोकुवा गरेका छन् ।
पोखरामा बुधबार प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति र विभिन्न खेल संघका पदाधिकारीहरु संगको छलफलमा मन्त्री चौधरीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना यहि वर्षको फागुन नकट्ने जनाएका हुन् ।
एक कार्यक्रमका लागि पोखरा आएका मन्त्री चौधरीले प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्मालगायत मन्त्रालयको टोली संग पोखरा रंगशालाको अवलोकन भ्रमण गरेका थिए ।
खेल संघका पदाधिकारीहरु लाई सरकारले गरेका विभिन्न योजना र नितीगत विषयहरुका बारेमा जानकारी गराउँदै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थाल्न आग्रह गरे । उनले भने–“मंसिर २१ गतेको राखेपको बोर्ड बैठकमा सबै कुरा निर्णय हुन्छ । अब अन्यौलमा खेल संघ र खेलाडीहरु बस्नु पर्दैन हामी फागुन भित्रै १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्छौ ।”
यूवा तथा खेलकुद मन्त्रालय सिमिति बजेट भित्र रहेर आफ्ना योजनाहरु अघि सारिरहेको जनाउँदै मन्त्री चौधरीले विकेन्द्रीकरणको निति अपनाउँदै १० औं राष्ट्रिय खेलकुदको तयारी बजेट समेत सबै प्रदेश खेलकुद परिषद अन्तर्गत खर्च हुने गरी तय गरिने बताए ।
यस्तै मन्त्री चौधरीले सन २०२७ मा नेपाल र बंगालादेशमा आयोजना हुने यू–१९ वर्ल्ड कपको एक खेल पोखरामा गर्न सरकारले पूर्ण सहयोग गर्ने बताए । उनले यसका लागि आगामी बजेटमा रकम विनियोजन हुने आश्वस्त पार्दै पोखरा वर्ल्डकपका लागि उत्कृष्ट भेन्यू रहेको जनाए । “मैले आइसीसीका पदाधिकारीहरु संग भेट गरेको छु । आवश्यक बजेटका लागि तयार रहन म सबैलाई आग्रह गर्न चाहन्छु”, उनले भने ।
पोखरामा खेलकुदको उत्साह निकै गर्व गर्ने लायक रहेको जनाउँदै मन्त्री चौधरीले जहाँ उत्साह हुन्छ त्यहाँ सरकारको सहयोगले अझै उत्साहित बनाएर खेलकुदको जगलाई बलियो बनाउनु पर्ने उल्लेख गरे । उनले भने–“जहाँ उत्साह हुन्छ । त्यहाँ लगानी आवश्यक छ । उत्साह हुने ठाउँमा गरिएको लगानीले प्रतिफल पनि पाउँछ ।” मन्त्री चौधरीले देशकै ठूलो पोखरा रंगशालाको संरक्षणका लागि सबैको ध्यान जान आवश्यक रहेको जनाउँदै उनले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता समेत जनाए ।
मन्त्री चौधरीले अब नेपाल खेलकुदको हव हुने जनाउँदै खेलकुदमा निजी क्षेत्रको लगानी बढेको बताए । उनले निजी, स्थानिय सरकार र उद्योगी व्यवसायीहरुलाई संगको सहकार्यलाई अझै जोडदिने बताउँदै सबैको सहकार्यले नेपाल खेलकुदको हव बन्नेमा आफू विश्वस्त रहेको जनाए ।
यसै बिच प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले पूर्वाधार लगायतका विषयमा रहेका अन्यौलता फुकाउन आग्रह गर्दै परिषदले खेलको विकास र खेलाडीहरुको हितमा विभिन्न योजनाहरु अघि सारेको बताए ।

