पोखरा आइटिएफ जे३० प्रतियोगिता सुरू, पोखराको पर्यटनमा ‘स्पोर्ट्स टुरिजम’ महत्वपूर्ण–मेयर आचार्य

१० देशका १०५ खेलाडी पहिलो सर्किटको प्रतिष्पर्धामा, पहिलो दिन ३५ खेल सम्पन्न

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वर्ल्ड टेनिस टुर जे३० सर्किट १ र २ सुरू भएको छ ।

प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा ३५ खेल सम्पन्न भएको संघले जनाएको छ । प्रतियोगिताका विश्व नं १ बरियता जापनका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतिय खेलाडी शौनक चटर्जीलाई २–१ ले पराजित गरेका छन् । सक्षम ६–४, ३–६ र ६–३ ले जित दर्ता गरे ।

त्यस्तै आजबाट सुरू भएको पहिलो चरणको खेलमा नेपाली खेलाडी आयुष्मान हजुर घले समेत भारतिय खेलाडी अमित मुन्द संग ६–४, ६–४ ले हार व्यहोरेका छन् । भारतिय खेलाडी आदित्य मोरले भारतकै आरभ चावलालाई ३–६, ६–२, र ६–३ ले पराजित गरे । भारतका अद्भित तिवारीले नेपालका राजविर प्रधानलाई ६–३, ४–६, ६–४ ले पाखा लगाए भने भारतका सौर्य समलाले नेपालका निश्चल कायस्थलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे ।

पहिलो चरणको खेलमा भारतका ओजश मेहलावत संग नेपाली खेलाडी दर्शिल श्रेष्ठले हार ब्यहोरेका छन् । पोखरेली खेलाडी समेत रहेका दर्शिल आफ्नै मैदानमा ६–१, ६–१ ले पराजित भए । अस्ट्रेलियाका प्रतिक नविनले भारतका प्रकाश शरनलाई ६–३, ६–० ले, भारतका विर मदमले चिनका केजुङ देङलाई ३–६, ६–० र ६–२ ले, भारतका अधिराजक ठाकुरले भारतकै शिवतेज सिरफुलेलाई ६–१, ६–२ ले, भारतका आश्रभ्य मेहराले भारतकै भ्योम शाहलाई ६–०, ६–१ ले पराजित गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

त्यस्तै गर्ल्सतर्फ नेपाली खेलाडी शिभाली गुरुङले भारतकी भ्रन्दिका राजपुतलाई ६–२, ६–० ले, चिनकी यूयू ल्यूले भारतकी नन्दीनी कन्सलाई ६–१, ४–६ र ७–६(४) ले तथा नेपाली खेलाडी सुनिरा थापाले भारतकी नेभी दवासलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन् । भारतकी रित अरोराले भारतकै एन्जल पटेललाई ६–३, ६–३ ले, मंगोलियाकी मार्टा चोकसोम्जाभले भारतकी मानसी सिंहलाई ६–१, ६–० ले पराजित गर्दा भारतकी दिशा बेहेराले क्यानाडाकी नोरा चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरिन् ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सोमबारबाट सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बिच पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले गरेका छन् । सो अवसरमा बोल्दै मेयर आचार्यले पोखराको पर्यटन प्रवर्द्धनमा स्पोर्टस टुरिजम महत्वपूर्ण पाटोकोे रुपमा रहेको बताएका छन् ।

पोखरा पर्यटनको हब रहेको बताउँदै मेयर आचार्यले भने–“गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटनको हव हो । राजधानी हो । यहाँ बिदा मनाउन मात्रै पर्यटक आउँदैनन् । त्यो भित्र स्पोर्टस टुरिजमको समेत उत्तिकै महत्वपूर्ण योगदान छ ।” सबै मिलेर खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न र मुलुकलाई अगाडी बढाउन आग्रह गर्दै राष्ट्रिय एकताको लागि समेत सबै एक जुटहुनु पर्ने उनले औंल्याए ।

पोखरामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगिताहरु आयोजना भइरहेको र व्यक्तिगत स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रिय र सामाजिक स्वास्थ्यका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको मेयर आचार्यले उल्लेख गर्दै भने–“व्यक्तिगत स्वास्थ्यका लागि मात्रै नभई राष्ट्रिय र सामाजिक स्वास्थ्य संगै खेलकुद राष्ट्रिय एकताको पहिचान समेत हो ।” सबै मिलेर खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न र मुलुकलाई अगाडी बढाउन आग्रह गर्दै मेयर आचार्यले राष्ट्रिय एकताको विकासका लागि समेत खेलकुद महत्वपूर्ण रहेको जनाए ।

सबै खेलाडीहरुलाई जितको शुभकामना व्यक्त गर्दै मेयर आचार्यले टेनिसले ‘खेल्छ गण्डकी’ मार्फत यूवा खेलाडी उत्पादनका लागि गरेको कार्यको प्रंशसा समेत गर्दै पोखरा महानगरले समेत सहयोग रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थले पछिल्लो समय टेनिस विश्वकै आकर्षक खेलको रुपमा अघि बढेको बताउँदै पोखराको टेनिसले पर्यटकको बसाई लम्ब्याउन समेत भूमिका खेलेको जनाए । उनले नेपाली खेलाडीहरुले समेत अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्साहजनक नतिजा ल्याउन सफल रहेको जनाउँदै आवश्यक पूर्वाधार निर्माणका लागि समेत राज्यको ध्यान जानुपर्ने औंल्याए ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङ (राजु)को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सचिब भिष्म राज पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।

करिव दुई साता मंसिर १७ देखि २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो सर्किट आजबाट सुरू भएको हो । पहिलो सर्किट अन्तर्गत विभिन्न १० देशका ब्वाइजतर्फ ७० र गर्ल्सतर्फ ३५ गरी १ सय ५ जना प्रतिष्पर्धामा रहेको प्रचार प्रसार समितिका संयोजक प्रिती बरालले बताएकी छन् । प्रतियोगितामा सहभागि देशहरुमा नेपालसहित जापान, भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष सिङ्गल्स तथा डबल्स, महिला सिङ्गल्स तथा डबल्स गरि चार इभेन्टमा प्रतियोगिता संचालन भएको हो । जसमा बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ वर्ल्ड र्‍याकिङ नं १ जापानी खेलाडी रिकु हिगासी र नेपाली खेलाडी वर्ल्ड र्‍याकिङमा चौथो रहेका आरभ सम्राट हाडा र महिलातर्फ वर्ल्ड र्‍याकिङ नं १ भारतिय खेलाडी माहिका खन्ना र छैटौं वर्ल्ड र्‍याकिङकी नेपाली खेलाडी सुनिरा थापाको सहभागिता रहेको छ । जापानी खेलाडी रिकु गत वर्ष समेत पोखरा आएका खेलाडी हुन् ।

प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने कास्की टेनिसका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close