२०८२ जेष्ठ २३ गते शुक्रबारको राशिफल

राशिफल
आजको राशिफल बिसं २०८२ जेष्ठ २३ गते शुक्रबार ईसं २०२५ जुन ६ नेपाल सम्बत ११४५ तछलाथ्व एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल एकादशी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, व्यतिपात योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ०७ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५१ मिनेट देखि ०८ बजेर ३५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ, तर कलह र विवादको योग बनेको छ, त्यसैले कम बोल्नु ठीक हुन्छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । मानसिक रूपमा कमजोर समय छ, मित्र र सहयोगीहरूले पनि साथ दिन पाउने छैनन् । काम र यात्राबाट थकानको महसुस हुनसक्छ । मन्दी र नोक्सानीका बारेमा पुनर्मूल्याङ्कन गरी अघि बढ्ने समय हो, नयाँ कामको प्रस्ताव आउनसक्छ, बुद्धिको प्रयोग गरेमा लाभसमेत पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो । आशा देखाउनेहरूले पनि सहयोग गर्ने परिस्थिति बन्दैन, अतः व्यस्त रहँदारहँदै दिन बितेको पत्तो पाइने छैन । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बढुवा हुने वा थप जिम्मेवारी प्राप्त हुने राम्रो दिन छ, आज आफन्त वा नातागोताको काममा समेत सघाउनुपर्ने परिस्थिति बन्नसक्छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्द्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनसम्पत्तिको लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । स्वास्थ्यका कारण तनावग्रस्त रहनु पर्नेछ । खर्चको मात्रामा बृद्धि भइरहन्छ । जीवनसाथी वा प्रेमीप्रेमिकाका बीचमा सम्बन्ध सुमधुर रहनेछ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको÷नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । बुद्धिको उपयोग गर्नाले लक्ष्यप्राप्ति हुने समय हो । विवेक र सुझबुझको प्रयोग गरेमा रोकिएको कामले निकास पाउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज आकस्मिक लाभ पाउने दिन हो । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको सदुपयोग गर्नुहोला । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन र शरीर भारी हुने समय छ, कामकाजमा पनि उत्साहको कमी हुनेछ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क मान्नु हुनेछ । लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो ।
(ज्योपं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद) एभरेष्ट न्यूज एजेन्सी,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close