
पोखरा स्पोर्टस । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन् । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनको भनाई छ ।


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा पोखरामा सञ्चालित १७ औं हिसान स्पोर्ट्स मीट २०८१ को औपचारिक समुद्घाटन गर्दै प्रमुख अतिथि भट्टले स्वस्थताका लागि खेलकुदको महत्वलाई प्रष्ट पारेका हुन् ।
‘स्वस्थ शरीर नै एउटा मान्छेका लागि सुख र आनन्द हो । अनुशासित स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगी सिद्ध छ । स्वस्थ शरीर र निरोगी मस्तिष्कबाट नागरिकले सुन्दर भविष्यको रुपरेखा कोर्छन् । अनि मात्र मुलुक समृद्ध बन्दछ ।’ प्रदेश प्रमुख भट्टले भनेका छन् ।
खेलकूद र शिक्षा एक अर्काका पूरक भन्दै उनले यसलाई तालमेल मिलाउँदै हिसान कास्कीले विगत १७ वर्षदेखि यस प्रकारका गतिविधि गरेकोमा धन्यवाद व्यक्त गरे । ‘विद्यालयमा विभिन्न क्षेत्र, लिङ्ग, वर्ग, संस्कृति र सामाजिक परिवेशका बालबालिका अध्ययन गर्न आउँदछन् । उनीहरूलाई शिक्षासँगै खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकासका लागि विद्यालयको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले भने ।
खेलकुद विकासको आधार स्तम्भ विद्यालय रहेको बताउँदै उहाँले दक्ष जनशक्ति, सुयोग्य नागरिक उत्पादनको कारखानाको रूपमा रहेको विद्यालयमा खेलकुदको विकासको विकल्प नरहेकोमा जोड दिए ।
पछिल्लो समय नेपाल खेलकुदको माध्यमबाटसमेत चिनिँदै गएको उल्लेख गर्दै उनले सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेको र खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताए ।
खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढिरहेको जनाउँदै उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य एवं खेल भविष्यका लागि सानैबाट पहलकदमी लिई जस्ता संस्थाले गरेको गतिविधि प्रशंसायोग्य रहेको बताए ।
आफ्ना सदस्य विद्यालय तथा कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीहरू बीच आपसी मित्रताको अभिवृद्धि गराउने तथा उनीहरूलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्न हिसानको यो खेलकुद कार्यक्रम प्रशंसनीय रहेको उनको भनाई छ ।
सो अवसरमा प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ का साथमा सम्मान पत्रले सम्मानित गरेका थिए । प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई उनको खेलको योगदानको कदर गर्दै आफ्नोतर्फबाट नगद ५ हजार प्रदान गरेका थिए ।
निजी शिक्षालयहरूको साझा संगठनका रुपमा रहेको हिसान अन्तर्गत कास्कीमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा संगठित ६५ भन्दा बढी प्लस टु विद्यालय र १५ वटा कलेजहरु आबद्ध रहेका छन् ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने बताउँदै राज्यले खेलकुदमा लगानी बढाउने तर्फ ध्यान नदिएको बताए ।
सो अवसरमा हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्काले स्पोर्टस मिट महोत्सवको रुपमा अघि बढेको उल्लेख गरे ।
हिसान कास्कीद्वारा सम्मानित राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले हिसान कास्की प्रति आभार व्यक्त गर्दै यूवा खेलाडीहरुले शिक्षा संगै खेलकुदमा लागन आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् ।
‘स्वास्थ्य, अनुशासन र प्रतिभा प्रस्फुटनका लागि खेलकुद’ नाराका साथ आयोजित यस १७ औं संस्करणको खेलकुद महोत्सवमा कास्कीका ७५ विद्यालय तथा कलेजहरूका ५ हजार भन्दा बढी विद्यार्थीले दर्जनौं प्रकारका खेलकुद प्रतियोगितामा सहभागिता जनाएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए ।
