
पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन् । उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारेका हुन् । ४–अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन् ।
३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे । यस्तै २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन् । यसैगरी भुवन कुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे । उनीहरूले १–अन्डर ७१ स्कोर गरे। इभन–पार ७२ को स्कोरमा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् ।
गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन तोरणले ५–अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि दशौं होलमा एक सट खेर फाले । तर यसपछि १२औं, १३औं र १५औं होलमा एक–एक सट बचाएर ब्याक नाइन २–अण्डर ३४ मा सकाए। यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे ।
नेपाल नम्बर एक भुवनले पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। उत्कृष्ट सुरूवात गरेका भुवनले ब्याक नाइनमा भने तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे । ब्याक नाइनमा १–अन्डर ३५ को स्कोर निकाले । उनले १०औं, १६औं र १७औं होलमा एक–एक सट बचाए । १४औं र १८औं होलमा बोगी प्रहार गरे। सुनिल केसीले सुरूवात राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए । पाँचौं र छैटौं होलमा बोगी प्रहार गर्दा सातौं होलमा एक सट बचाए । यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे । ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे भने १८औं होलमा पनि एक सट बचाए ।
ब्याक नाइन ५–अन्डर ३१ मा पुरा गर्दा ४–अन्डर ६८ को स्कोरकार्ड तयार पारे। एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई ३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे । १–ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।
चार दिन सम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । ३६ होलपछि कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागी स्थान सुरक्षित गर्नेछन। प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।
