
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलाडी उत्पादनका लागि महत्वकाँक्षी योजना अघि सार्दै ‘भविष्यका लागि खेलकुद’ कार्यक्रम अघि सारेको छ । राखेप अन्तर्गत रहेको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले उक्त कार्यक्रम अघि सार्दै सातै प्रदेशबाट ९ देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरुलाई निशुल्क आवाशिय सुविधासहितको प्रशिक्षण कार्यक्रम अघि सारेको हो ।

सो बारे जानकारी दिंदै प्रतिष्ठानका विभागिय प्रमुख कृष्ण तिमिल्सिनाले ९ देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरुलाई अभियान अन्तर्गत छनौट गर्ने गरी तयारी सुरु गरिएको बताए । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले राखेपको बहुवर्षिय योजना अनुरुप ८ वर्ष भित्र नेपाली खेलाडीहरुलाई ओलम्पिक सम्म पुर्याउने लक्ष्यका साथ अघि सारिएको बताए ।
कार्यक्रम अन्तर्गत सातै प्रदेशका राजधानीलगायतका स्थानहरुमा छनौट गरी ७० जनालाई पहिलो वर्षको कार्यक्रममा समावेश गरिने तिमिल्सिनाले जानकारी दिए । उनले भने–“यो राखेपको महत्वकाँक्षी योजना हो । हामी सातै प्रदेशबाट ९ देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरुको छनौट गरी उनीहरुलाई निशुल्क शिक्षा संगै खेलकुद प्रशिक्षण दिनेछौं ।”
“टु ओलम्पिक साइकल” (दुई ओलम्पिक चरण) अभियानको कार्यक्रम हो”, विभागिय प्रमुख तिमिल्सिनाले भने–“हामी खेलकुदलाई धरातल बाटै स्थापित गर्न चाहन्छौं भने अर्को तर्फ यो कार्यक्रम पूर्ण रुपमा स्पोर्टस साइन्सको यन्थ्रोपोमेटिक्समा आधारित हुनेछ । हामी बालबालिकाको शारिरिक, मानसिकलगायतका परिक्षणबाट उनीहरुलाई विभिन्न खेलको प्रशिक्षणमा समावेश गर्नेछौं ।”
८ वर्ष सम्म सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत हरेक वर्ष ७० जनाका दरले ५ सय ६० जनाले प्रत्यक्ष रुपमा अभियानमा समावेश हुने मौका प्राप्त गर्नेछन् । सन २०३० सम्म नेपालको ओलम्पिक यात्रामा पदक प्राप्त गर्ने गरी सारिएको यो वर्षको कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ विनियोजन भएको र यो वर्षको शैक्षिक शत्र सुरु हुने बैशाखबाट देशभरीबाट छनौट भएका खेलाडीहरुलाई सोझै काठमाण्डौ बोलाइने छ ।
छनौटका लागि स्पोर्टस साइन्समा आधारित विभिन्न १२ वटा चरणहरु पार गर्नुपर्ने विभागिय प्रमुख तिमिल्सिनाले बताए । उनले भने–“हामी स्पोर्टस साइन्समा आधारित रहेर उनीहरुको छनौट गर्नेछौं । उनीहरुले छनौटमा विभिन्न १२ वटा चरणहरु पार गर्नुपर्ने छ ।” गण्डकी प्रदेशमा यो छनौट कार्यक्रम पौष ६ र ७ गते पोखरा रंगशाला र म्याग्दीमा पौष ९ र १० गते हुनेछ ।
कार्यक्रम अन्तर्गत हुने प्रशिक्षणका लागि हाल राखेपमा कार्यरत प्रशिक्षकहरुलाई रिफ्रेशर कोर्ष दिएर सुरु गरिने राखेपले तयारी थालेको छ ।
